झापा । बिर्तामोड नगरपालिकाका एक जना अटो चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बिर्तामोड नगरपालिका २ का २९ वर्षिय अटोचालक रहेका छन् ।

नगरपालिकाले भदौ १६ र १७ गते ९७९ जना अटो चालकको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो । त्यसमध्ये पहिलो चरणमा आएको रिपोर्टमा एक जनाको पोजिटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले बताए । उनले ९७९ जनामध्ये २०० जनाको रिपोर्ट होल्डमा रहेको जानकारी दिए ।

अटो सञ्चालनले जोखिम बढेको भन्दै नगरपालिकाले अटोरिक्सा चालकको पिसिआर परीक्षण गराएर मात्र सञ्चालन गर्न दिने गरी अटो संचालनमा रोक लगाएको थियो ।

अब पिसिआर नेगेटिभ भएकाहरुले अटो सञ्चालन गर्न पाउने नगरपालिकाले जनाएको छ ।