झापा । अवैध लागु पदार्थसहित शनिबार झापामा ६ जना पक्राउ परेका छन् । पाँच जना ब्राउन सुगर र एक जना गाँजासहित पक्राउ परेका हुन् ।
शनिबार दिउँसो ३ बजे मेचीनगर नगरपालिका वडा नं १३ स्थित ईलाम रोडमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले वडा नं १० बस्ने १८ वर्षिय बिशाल लिम्बु र वडा नं १२ बस्ने २३ वर्षिय राजन श्रेष्ठलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
उनीहरुले चलाईरहेको मे ४ प ७७२६ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा ब्राउन सुगर जस्तो देखिने मिसाईलो पदार्थ ८.५ ग्राम बरामद गरी दुवैलाई मोटरसाइकलसहित नियन्त्रणमा इप्रका धुलाबारीमा ल्याई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै दिउँसो ४ बजे बिर्तामोड नगरपालिका वडा नं १ स्थित अधुवा पुल छेउमा लागूऔषधको कारोबार भैरहेको भन्ने बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा संदिप धिमाल, आकाश राई र आशिष राईलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई चेकजाँच गर्दा संदिप धिमालको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने मिसाईलो पदार्थ प्लाष्टिकसहित १४ ग्राम ८१० मिलिग्राम बरामद गरी तीनै जनालाई इप्रका बिर्तामोडमा ल्याई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हिजै अवैध चार किलो गाँजासहित दमकमा एक जना पक्राउ परेका थिए । इलाम माङ्सेबुङ गाउँपालिका ६ घर भई दमक १ मामा चोकस्थित सुन्दर लावतीको घरमा डेरा गरी बस्ने २६ वर्षिय अर्पण राई पक्राउ परेका हुन् ।
लुकाई छिपाई राखी बेचबिखन गर्दै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको कोठामा रहेको काठको पलङमा झोलामा राखेको प्रतिबन्धित ४ केजी ५८ ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।