भद्रपुर। झापा जिल्ला कारागारमा कैद भूक्तान गरिरहेका कैदीबन्दीमध्ये १३ जनाले माफी मिनाहा पाएका छन् । संविधान दिवसको अवसरमा झापा कारागारबाट उनीहरुले माफी मिनाहा पाएको झापा कारागारका जेलर राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
माफी मिनाहा पाउनेमा शान्तिराम भट्टराई, रामु भन्ने राम दर्जी, अनिल कटवाल, राजु शेर्मा लिम्बू, लोदे सोरेन, अनिष प्रसाई, द्रोर्णाचार्य सङ्ग्रौला, इन्द्र राजवंशी, रोशन खड्का, टेकनाथ चौधरी, कृष्ण हमतो, राजकुमार ऋषिदेव र हरिभक्त सङ्ग्रौला रहेको उहाँले जनाउँनुभयो ।
कानूनले सिफारिस गर्न नमिल्ने भनी तोकिएको मुद्दा वाहेक असल चालचलन भइ तोकिएको कैदमा असोज २ गतेसम्म ५० प्रतिशत कैद भूक्तान गरेका बन्दीले माफी मिनाहा पाएको उहाँको भनाइ छ ।
झापा कारागारबाट १९ जनाको सिफारिस पठाएकोमा नेपाल सरकार मन्त्री परिषदको निर्णयले राष्ट्रपतिबाट बाँकी कैद मिनाह भूक्तानीको १३ जनाको स्वीकृत भएर आएको उहाँले बताउनुभयो ।
संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन,२०७४को दफा ३७,फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम संलग्न विवरण अनुसारका कैदीहलाइ बाँकी कैद छोट्याइ माफि मिनाहा दिने निर्णय भएको थियो ।
हाल कारागारमा एकहजार ७३ पुरुष र ५ आश्रित (बालबालिका)सहित ८१ जना महिला रहेका छन् ।