ताप्लेजुङ । आन्तरिक उडान सुरुभए संगै ताप्लेजुङको सुकेटार बिमानस्थलमा सोमबारदेखि सिता एयरले उडान सुरु गरेको छ ।

कोभिड १९ का कारण चैतदेखि बन्द रहेको आन्तरिक उडान पुनः सञ्चालन गर्ने सरकारको निर्णय पछि पहिलो पटक सीता एयरले काठमाण्डौबाट सोमबार ६ जना यात्रु लिएर लिएर सुकेटार आएको छ ।

कोरोना संक्रमणलाई विशेष ध्यान दिदै यात्रुको पीसीआर जाँचदेखि अन्य स्वास्थ्य सुरक्षाका आवस्यक उपाय अपनाएर नियमित उडान सुरु गरिएको सिता एयर प्रालिका रिजेस थापाले बताए । थापाका अनुसार काठमाण्डौबाट अन्यत्र उड्ने यात्रुलाई पीसीार जाँच अनिवार्य गरिएको छ । पीसीआर जाँचका लागि सीता एयरले ५ सय रुपैँया छुट समेत गराएको छ ।

जाँचका लागि बाँकी खर्च यात्रु आफैँले बेहोर्नुपर्छ । सोमबार ताप्लेजुङ आउने तयारीका साथ टिकट गरेका १० मध्ये ४ जनाको भने पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि उनिहरु काठमाडौंमै रोकिएका छन् । सरकारले यात्राका लागि पिसिआर जाँच अनिवार्य नभनेको भए पनि स्वास्थ्य सुरक्षाका लागि सीता एयरले भने सतर्कता अपनाएको हो ।

यता संक्रमणका कारण लामो समय बन्द रहेको सुकेटार विमानस्थलमा उडान सुरु भएसंगै यहाँको स्वास्थ्य सुरक्षामा समेत विशेष ध्यान दिईएको ताप्लेजुङ नागरिक उड्डयन कार्यालय प्रमुख सुर्यबहादुर खत्रीले बताए ।

सिता एअरले गएको मंसिरदेखि सोमबार र शुक्रबार नियमित कामाण्डौ ताप्लेजुङ उडान सुरु गरेको थियो । लामो समयपछि पुनः उडान सुरु भएपछि सोमबार ताप्लेजुङबाट ७ जना यात्रु लिएर जहाज फर्किएको छ ।