झापा । झापामा आज बिहीबार थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये एक जना व्यापारी रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार भद्रपुर नगरपालिकाका १ जना पुरुष, कन्काई नगरपालिकाका २ जना पुरुष र झापा गाउँपालिकाका १ जना पुरुषमा कोरोना पुष्टि भएको हो।

भद्रपुर नगरपालिकाका संक्रमित एक जना ब्यापारीसहित सबै जना संक्रमितहरु स्थानीय बासिन्दा रहेको चौंलागाईंले बताए । उनका अनुसार कन्काईका एक जना संक्रमितको स्थायी ठेगाना बिर्तामोड वडा न ५ रहेको छ ।

यो संगै झापा कुल कोरोना संक्रमितको संख्या ८२२ पुगेको छ । जसमा ७५७ जना निको भएका छन् । भने अब ५९ जना उपचारारत छन्।

यस्तै झापा गाउँपालिकाका एक जना बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। उनको आजै संक्रमण पुष्टि भएको थियो । योसंगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।