झापा । स्थानीय बासिन्दामा कोरोना संक्रमण फैलिएपछि झापाको अर्जुनधारा नगरपालिकाको थप तीन वटा वडा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

९ नम्बर वडा निवासी एक व्यक्तिमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । समुदायमा संक्रमण फैलन त्रासका कारण नगरको ८, ९ र १० नम्बर वडा कार्यालय बन्द गरिएको हो ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमित व्यक्ति ८, ९ र १० नम्बर वडा कार्यालयसहित अन्त्रय गएको पाइएपछि कार्यालय बन्द गर्नु परेको सम्बन्धित वडाध्यक्षहरुले जनाएका छन् ।

संक्रमित व्यक्तिमा लक्षणसमेत देखा परेको पाइएपछि सतर्कता अपनाउँदै थप संक्रमण फैलन नदिनका लागि पनि कार्यालयलाई डिस्इन्फेन्टेन्ट गरी अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको १० नम्बर वडा अध्यक्ष बलदेवसिंह गोम्देनले बताए ।

वडा नम्बर ९ कै व्यक्तिमा लक्षणसहित संक्रमण फैलिएकाले सर्वपक्षीय छलफल गरेर अनिश्चितकालका लागि बन्द गरिएको सूचना सार्वजनिक गरिएको वडा सचिव त्रिविक्रम पोखरेलले बताए ।

यस्तै, शनिश्चरे बजारमा रहेको ८ नम्बर वडा कार्यालयमा पनि संक्रमित व्यक्ति आउजाउ गरेकाले आइतबारसम्मका लागि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ ।

यसअघि खुदुनाबारीमा एकै परिवारका ३ व्यक्तिमा संक्रमण पुष्टि भएपछि अर्जुनधारा २ र ३ नम्बर वडा कार्यालय बन्द अवस्थामा रहेको छ । आज बुधबार बसेको सर्वपक्षीय बैठकले आउँदो शनिबारसम्म वडा कार्यालय बन्द रहने निर्णय गरेको छ ।