झापा । पूर्वी नेपालको साविक मेची अञ्चल क्षेत्रको पर्यटन विकास, व्यक्तिगत स्वास्थ्य तथा पर्यावरण संरक्षणमा जोड पुगोस् भन्ने उद्देश्यले आजदेखि ताप्लेजुङको सुकेटारबाट साइकल यात्रा शुरु भएको छ ।

तेह्र जना साइकल यात्री सहभागी उक्त यात्रा बिर्तामोडमा आएर टुङ्गिने आयोजकले बताएको छ । यात्राका संयोजक योगेन्द्र थापाका अनुसार यात्रा शुरु भएको पहिलो रात पाँचथर, दोस्रो रात इलाममा बास बसेर झापा पुग्ने योजना रहेको बताउनुभयो । विपत्ति आइपरेन भने १९ गतेसम्म झापा पुग्ने योजना रहेको उहाँले जानकारी गराउनुभयो ।

पहाडबाट नै यात्रा शुरु गर्नेबारे स्पष्ट पार्दै संयोजक थापाले ‘हाम्रा पहाडहरु पनि साइकल यात्राका लागि सहज भइसके भन्ने सन्देश दिनु पनि रहेको’ बताउनुभयो ।

यात्राका लागि सहभागीहरु साइकलसहित हिजो नै सुकेटार पुगेका थिए । कोरोना कहरलाई मध्यनजर गर्दै यात्रा शुरु गर्नुभन्दा अघि यात्रीहरुले सुकेटारको डाँडामा आआफ्नो टेन्ट टाँगी बासको व्यवस्था गरेको थियो । यस यात्राभरि बासको व्यवस्था भने उनीहरुको टेन्टमा नै हुनेछ ।

साइकल यात्रा नेपाल लिङ्स प्याडलको आयोजना तथा सिटी सेन्टर बिर्तामोडमा अवस्थित जाइन्ट साइकलको आधिकारिक बिक्रेता हिमालय माउण्ट वाइक्सको संयोजनमा भएको हो ।