काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहमा २८ वर्षिया सोनिका तामाङले एकै पटक पाँच शिशु जन्माएकी छिन् । नुवाकोटकी उनको गर्भबाट सोमबार बिहान शल्यक्रिया गरी ५ शिशु निकालिएको हो ।
गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि उनको आकिस्मक शल्यक्रिया गर्नु परेको शल्यक्रियामा संलग्न चिकित्सक डा किर्तिपाल सुवेदीले बताए । ‘भर्ना हुँदा पेटमा चारवटा बच्चा छ, एउटा मृत छ भनेर आउनु भएको थियो । शल्यक्रिया गर्दा मात्रै ५ वटा शिशु भएको थाहा भयो,’ उनले भने, ‘हामी पनि छक्क पर्यौं, पछिल्लो बच्चाको तौल निकै कम छ ।’
मृत शिशुका कारण अन्य जीवित शिशुलाई असर गर्ला भनेर महिलालाई एक महिना अघिदेखि नै अस्पताल भर्ना गरेर निगरानीमा राखिएको थियो ।
उनका अनुसार मृत शिशुबाट निस्कने खराब रसायन (डीआईसी)ले अन्य शिशुको वृद्धि विकासमा असर गर्ने या मृत्यु नै गराइदिने जोखिम थियो ।
गर्भको नौ महिना पुगेपछि शल्यक्रिया गरी सुत्केरी गराउने योजना थियो तर, सोमबार बिहान उनलाई बेथा लाग्यो । चिकित्सकले तुरुन्तै शल्यक्रयिा गरि सुत्केरी गराए । जन्मिएका सबै शिशु छोरी हुन् भने मृत छोरा थिए । उनको तौल सामान्य (२.३ केजी) भन्दा कम छ । १.८, १.९, १.६ र ८०० ग्रामका छन् ।
जीवित जन्मिएका तीन शिशुलाई अहिले अर्ब्जभेसनका लागि वार्डमा राखिएको छ भने कम तौललाई भने एनआईसीयू राखेर उपचार गरिएको डा सुवेदीले बताए ।
‘एउटै पाठेघरमा पाँचजना बच्चा हुनु फेरि आठ महिनामै जन्मिएका छन्’, उनले भने, ‘त्यो हिसाबले तौल ठिकै मान्नुपर्छ ।’ आमाको स्वास्थ्य समान्य छ । अत्यधिक रक्तश्राप या पाठेघर नै निकाल्नुपर्ने जस्ता जोखिम हुन सक्ने भएकाले सुत्केरीलाई केही दिन निगरानीमा राखिने उनले बताए ।
एकैपटक चार सन्तान प्राप्त हुँदा बुवा हरिकुमार तामाङको अनुहारमा हर्ष र चिन्ता दुवै देखिन्थ्यो । सोमबार दिउँसो अस्पताल पुग्दा उनी श्रीमतीको लागि खाना र औषधिका लागि दौडधुप गरिरहेका थिए । ‘पेटमै एउटा मरेको भनेर सुन्दा नरमाइलो लागेको थियो अहिले चारै जना जिउँदो छन् खुशी छु,’ उनले भने, ‘केही दिन आमा र बच्चा दुबैलाई खतरा छ रे, डर पनि लागेको छ ।’
विवाह भएको नौ वर्षपछि मात्रै यी दम्पतिले सन्तान जन्माएका हुन् । बीचमा गर्भ रहे पनि दुई पटक खेर गएको उनले सुनाए । अब सन्तान नै हुन्छ भनेर आशा मारिसकेका उनी दिनैभर आफन्तसँग अस्पताल प्रांगणमा खुशी व्यक्त गरिरहेका थिए ।
गर्भ बसेको १२ हप्तामा भिडियो एक्सरे गर्दा चारवटा शिशु छन् भनेर थाहा पाएपछि दम्पति काठमाडौं आएर बसेका थिए । चारवटा शिशु जन्माउन कुन, अस्पताल जाने, कुन चिकित्सक छान्ने भनेर उनी यो बिचमा धेरै आत्तिएको बताए ।
‘आफन्तले प्राइभेट अस्पतालमा सुत्केरी गराउँदा लाखौं खर्च हुन्छ भने । कसैले सरकारीमा लापरबाही हुन्छ भनिदिए,’ उनले भने, ‘धेरै अस्पताल धाएरै सोधेँ, विशेषज्ञहरु भरपर्दा हुन्छन् र खर्च पनि धेरै लाग्दैन भनेर प्रसूति गृहमा ल्याएँ ।’
यसअघि नेपालमा महिलाले एकैपटक चारवटा सम्म शिशु जन्माएको सुनिएको थियो । यस्ता अरु कति भयो होला भनेर अध्ययन गर्दा कुनै रिर्पोट नभेटिएको डा सुवेदीले बताए ।
‘धेरै पहिले हाम्रै अस्पतालमा एक महिलाले ५ वटा शिशु जन्माएको भनेर दाबी छ तर, त्यसको कुनै रेकर्ड भेटाएको छैन,’ उनले भने, ‘मेडिकल साइन्सले पनि यस्तो घटना विश्वमै दुर्लभ मानेको छ, आफ्नो चिकित्सा अभ्यासमा यस्तो दुर्लभ खाले अभ्यास गर्न पाउँदा खुशी लागेको छ ।’
उनका अनुसार गर्भमा एकभन्दा बढी शिशु हुनुमा आइभीएफ (कृतिम गर्भाधान) का विधि अपनाउनु प्रमुख कारण हो तर यी दम्पतिले यस्तो कुनै नपनाई गर्भ रहेको दाबी गरेका छन् । कान्तिपुरबाट