झापा । अर्जुनधारा नगरपालिकाका वडा कार्यालयबाट प्रवाह हुने सेवाहरु क्रमिकरुपले बन्द हुँदै गएका छन् । कोरोना भाइरसको जोखिम बढ्ने भन्दै एकपछि अर्को गर्दै वडा कार्यालयबाट सेवा प्रवाह बन्द गरेका हुन् ।

अहिलेसम्म विभिन्न ६ वटा वडा कार्यालय बन्द भइसकेका छन् भने बुधबारबाट वडा नम्बर ५ बाट प्रवाह हुने सेवा पनि बन्द गरिएको छ । समुदायमा कोरोना संक्रमण देखिएको भन्दै वडा कार्यालयले सेवा प्रवाह बन्द गरेको हो ।

वडा समिति र राजनीतिक दलका प्रतिनिधिले समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलन उच्च जोखिम बढेको निश्कर्ष निकाल्दै अर्को सूचना नआउञ्जेलसम्मका लागि सेवा प्रवाह बन्द गरिएको वडाध्यक्ष ध्यानबहादुर भारतीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

यसअघि अर्जुनधाराको २, ३, ६, ८, ९ र १० नम्बर वडा कार्यालय नै बन्द गरिएको छ । यी सबै कार्यालयबाट अहिले पनि सेवा प्रवाह हुन सकेको छैन ।