गणेश घिमिरे,
इलाम । पछिल्लो केही महिनायता इलाम प्रहरीले धमाधम फरार अभियुक्तलाई पक्राउ गर्न थालेको छ ।

\विभिन्न अपराधमा संलग्न रहेर अदालतबाट दोषी प्रमाण भइ सजायको फैसला सुनाएपछि फरार रहेकालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो । फरार अभियुक्त पक्राउ अभियान नै चलाएको प्रहरीले विशेष गरेर कोरोना महामारीपछि देशमा तीन महिनाभन्दा लामो लकडाउनपछि लुकिछीपी बसेकाहरु घर फर्कन थालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफलता मिलेको छ ।

ठगी मुद्दा, कर्तव्य ज्यानसम्बन्धी मुद्दा, लागूऔषध, बहुविवाह, जवरजस्ती करणी, हाड नाता करणी मुद्दाका धेरै अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको भदौ र असोज महिनाको १५ गतेसम्म (४५ दिनमा) दश जना फरार अभियुक्त पक्राउ गर्न सफल भएको छ । कर्तव्य ज्यानसम्बन्धी मुद्दाका दुई जना, बहुविवाह मुद्दाका तीन जना, जबरजस्ती करणी मुद्दाका दुई जना, हाडनाता करणी मुद्दा र ठगी मुद्दाका १/१ जना पक्राउ परेका हुन् ।

प्रहरीले चार वर्ष अघिदेखि फरार रहेका अभियुक्तलाई समेत पक्राउ गर्न सफल भएको छ । प्रहरीका अनुसार अदालतले कर्तव्य ज्यान मुद्दाअन्तर्गत ६ महिना कैद र २० हजार जरिवाना सुनाइएका माईजोगमाई गाउँपालिकाका २९ वर्षीय सोमकुमार राई र ५ महिना ६ दिन कैद र २० हजार जरिवाना सुनाइएका सोही गाउँपालिका ४ का ३३ वर्षीय बिष्णुकुमार राईलाई पक्राउ गरेको छ ।

यस्तै बहुविवाह मुद्दाअन्तर्गत १ वर्ष कैद र ५ हजार जरिवाना सुनाइएका देउमाइ नगरपालिका ६ का ३१ वर्षीय धनबहादुर खुलाल, इलाम नगरपालिका १० का ३३ वर्षीय पेमादोर्जे तामाङ र सोही ठाउँकी २९ वर्षीया ओममाया तामाङलाई पनि पक्राउ गरेको छ ।

यसैगरी जबरजस्ती करणी मुद्दामा फरार रहेका सन्दकपुर गाउँपालिका घर भइ हाल इलाम नगरपालिकामा डेरा गरी बस्ने २० वर्षीय सन्तोष राई र इलाम नगरपालिका १० का २४ वर्षीय यामबहादुर लिम्बूलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका सन्तोष राई अदालतको फैसलापछि चार वर्ष अघिदेखि फरार रहेका थिए ।

यस्तै हाडनाता जबरजस्ती करणी मुद्दामा देउमाई नगरपालिकास्थित शान्तिडाँडाका २२ वर्षीय बिर्खबहादुर लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले फाकफोकथुम गाउँपालिका ४ का सनबहादुर कामीलाई लागूऔषध मुद्दामा फरार रहेको अवस्थामा पक्राउ गरेका हो । उनलाई अदालतले ११ महिना १५ दिन कैद र ५ हजार रुपैंयाँ जरिवानाको सजाय सुनाएको थियो ।

यता इलाम नगरपालिका ६ का ३७ वर्षीय सञ्जीव राई ठगी मुद्दामा फरार रहेको अवस्थामा पक्राउ परेका छन् । उनलाई अदालतले ५ वर्ष कैद र ५ लाख ३७ हजार ६७१ रुपैंयाँ जरिवानाको फैसला अदालतले सुनाएको थियो । पक्राउ परेका सबैलाई अदालतमा हाजिर गरी आवश्यक सजाय भुक्तानका लागि इलाम कारागार चलान गरेको इलाम प्रहरीले जनाएको छ ।

लकडाउनमा अभियानलाई सफलता
इलाम प्रहरी प्रमुख नविनराज राईका अनुसार अपराध गरेर भागेकाहरू महामारी सुरु भएसँगै लकडाउनका कारण रोजगारी गुम्दै गएपछि घर फिरेका छन् । भारत तथा अन्य देशमा पुगेका पनि स्वदेश फर्केका छन् । सोही कारण पछिल्लो समय पक्राउ परेका अधिकांश घरमै भेटिएको एसपी राईको भनाइ छ ।

जिल्लामा नयाँ प्रहरी प्रमुख जानेबित्तिकै सक्रियता देखाउने कार्यशैली देखिँदै आएको छ । त्यही होडअन्तर्गत फरार अभियुक्त पक्राउ गर्ने अभियान चल्छ । यसपटक इलाममा पनि नयाँ प्रहरी प्रमुख नविनराज राई आएपछि फरार अभियुक्त पक्राउ गर्न प्राथमिकता दिएकाले धेरैजना समातिएका छन् । तर, एसपी राई यो कुरालाई स्वीकार्दैनन् ।

उनले पहिला पनि अरु प्रहरी प्रमुख हुँदा पनि फरार अभियुक्त पक्राउ अभियान चलेकै थियो र आफूले त्यसैलाई निरन्तरता दिएको बताए । तर, एसपी राईले  अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिलाई पक्राउ गर्दा जरिवानाको २५ प्रतिशत कमिसन प्रहरीले पाउने सुनाए ।

फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रोत्साहन भत्ता दिइँदै आएकोले पनि यो अभियान प्रभावकारी बनेको उनको भनाइ छ । कारण अरु जे भए पनि अपराध गरेपछि ढिलो-छिटो सजाय भोग्नुपर्छ भन्ने सन्देश दिन फरार अभियुक्त पक्राउ अभियानलाई सक्रिय ढंगले अघि बढाएको एसपी राईको भनाइ छ ।