पोखरा । कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र आक्रान्त छ । विश्वभरका पर्यटन क्षेत्र करिब ठप्प छन् । नेपालका पर्यटकीय प्रडक्ट र गन्तव्य पनि रित्तै छन् । तर, पर्यटकीय गन्तव्यबारे जानकारी दिने विश्वकै चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले भने यो वर्षको भ्रमण गर्न लायक गन्तव्यमा नेपालको अन्नपूर्ण फेरोको पदमार्गलाई पनि समेटेको छ । विश्वमा घुम्नैपर्ने पर्यटकीय सूचीमा लोन्ली प्लानेटले अन्नपूर्ण फेरोलाई समेटेको हो ।

लोन्ली प्लानेटले विश्वका घुम्नैपर्ने सूचीमा १० वटा मुलुकका महत्वपूर्ण, आकर्षक र साहसिक गन्तव्य समेट्दा नेपालको अन्नपूर्ण फेरोको पदमार्गलाई उत्कृष्टताको दशौं नम्बरमा राखेको छ । कोरोना संक्रमणले धेरैतिर पर्यटनमा अवरोध खडा गरिरहँदा आगामि वर्षको भ्रमण तयारीका लागि यो ससुँची उपयुक्त हुने लोन्ली प्लानेटको भनाई छ ।

‘आगामी वर्षको तपाईँको साहसिक यात्राको तयारी गर्नका लागि यो नै उपयुक्त समय हुनसक्छ’ लोन्ली प्लानेटले भनेको छ, ‘जब सुरक्षित हुन्छौ, तब पुन सडक तात्नेछ ।’

लोन्ली प्लानेटले नेपालका सुनौला मन्दिर, पहाडी भेगका गाउँ, जंगली जनावर अवलोकन सहित नेपालको अन्नपूर्ण क्षेत्रको पदयात्रा निकै नै रोमाञ्चक रहेको बताएको छ । धानखेतबाट सुरु हुने अन्नपुर्ण फेरोको पदयात्रा याक हेर्दै उकालो लाग्दा हिउँले भरिएको थोराङला भञ्ज्याङ पार गर्न सकिने पनि लोन्ली प्लानेटले उल्लेख गरेको छ । उच्च भेगको तिलिचो लेकसहित आसपासका गाउँको पनि अवलोकन गर्न पाइने भएकोले यो पदयात्रा रोमाञ्चक रहेको लोन्ली प्लानेटले बताएको छ ।

अन्नपुर्ण फेरो साहसिक पदमार्गमा गनिन्छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र यो पदमार्ग पर्छ । यो पदमार्गका पदयात्रीले लम्जुङ सदरमुकाम बेशीसहरबाट पदयात्रा सुरु गरि मनाङ हुँदै ५४१६ मिटर उचाईको थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ निस्कन सक्छन् । कतिपय भने भञ्ज्याङ पार नगरी पनि फर्किन्छन् ।

अन्नपुर्ण फेरोको पदमार्ग खासमा २१ दिन अवधिको पदयात्रा हो । मोटरबाटोले छोट्याउँदै जाँदा यो पदयात्रा अहिले एकसातामा खुम्चिएको छ । माथिल्लो मनाङसम्म सहजै मोटर पुगेपछि पदयात्रा अवधि पनि खुम्चिएको छ ।