बिर्तामोड । सुरुङ्गा हत्या प्रकरणमा संलग्नलाई प्रहरीले १२ घण्टाभित्र पक्राउ गरेको छ । घटनामा आफ्नै साथीको संलग्नता रहेको खुल्न आएको छ ।

झापा कनकाई नगरपालिका ३ एकान्तटोलका अभिषेक चौधरी बुधबार विहान मृत अवस्थामा फेला परेका थिए । प्रहरीले शव फेला परेको १२ घण्टा नवित्दै हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालको कमाण्डमा खटिएको टोलीले घटनामा संलग्नलाई बुधबार राति नै पक्राउ गरिसकेको बताइएको छ । पक्राउ परेकाहरु चौधरीकै साथीहरु रहेको खुलासा भएको छ । प्रहरीले आज १० बजे पत्रकार सम्मेलन गरेर घटनामा संलग्नहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

साथीहरुले २२ बर्षीय चौधरीलाई घाँटी र टाउकोमा धारिलो हतियार प्रयोग हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुरुङा खोला नजिकै भेटिएको शव आसपासमा रुमाल र स्टिलको प्लेट समेत फेला परेको थियो । प्रहरीले हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन बुधबार दिउँसो धरानबाट तालिम प्राप्त कुकुर लैला र टिकु ल्याएर सहयोग लिएको थियो ।