बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले कात्तिक ६ गतेसम्मका लागि नगरपालिकाको कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
पछिल्लो समय समुदायमा कोरोना भाइरसको संक्रमण दैनिक बढ्न थालेपछि आज शुक्रबार बसेको बैठकले नगरपालिका बन्द गर्ने निर्णय गरेको हो । समुदायमा संक्रमण बढ्दै गएपछि संकट निम्तिन सक्ने भन्दै बैठकले अत्यावश्यक सेवाबाहेक सम्पुर्ण अन्य सेवा प्रवाह नगर्ने नगरपालिकाले जनाएको हो ।
कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि नगरका सबै वडासहित नगरपालिका बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख धुब्रकुमार शिवाकोटीले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
नगरपालिका क्षेत्रमा अत्यावश्यक सेवा क्षेत्रमा स्वास्थ्य, सुरक्षा, फोहोर व्यवस्थापन, खानेपानी, विद्युतलगायत पर्छन् ।
त्यस्तै बैठकको निर्णयअनुसार नगर क्षेत्रका विभिन्न शक्तिपीठमा औपचारिक पूजामात्र गर्न दिइनेछ भने चोक बजारमा गरिने सबै किसिमका पूजाआजामा रोक लगाइएको छ ।