अर्जुनधारा । झापामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान अर्जुनधाराकी एक बृद्धाको कोरोना संक्रमणबाट निधन भएको हो ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका वडा नं ६ की ८१ वर्षीया खरेल थरकी बृद्धा रहेकी छन् । उनको आज विहान ६ः३० बजे घरमै मृत्यु भएको वडाध्यक्ष लोकनाथ गौतमले बताए । हिजो विराट मेडिकल कलेज विराटनगरमा गरेको पिसिआर परीक्षणमा उनलाई पोजेटिभ देखिएको थियो ।
यो समाचार तयार पार्दासम्म आज झापामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । आजै भद्रपुर ५ मा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पूर्व गाविस सचिव एवं भद्रपुर जेसीजका पूर्व अध्यक्ष कुमुदचन्द्र झाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भद्रपुर ५ निवासी ६३ वर्षिय झाको आफ्नै घरमा बिहान ४ः१५ बजे मृत्यु भएको हो । उनले कात्तिक २१ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरेको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।
झाको मृत्यु भएपछि उनको रिपोर्ट आज बिहान अस्पतालबाट मगाएको श्रेष्ठले बताए । झा भद्रपुर जेसीजका सन् १९९६ का अध्यक्ष एवम् नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष रहेका थिए । उनले लामो समय गाविस सचिव भएर काम गरेका थिए ।