दमक । झापाको दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक बृद्धि हुँदै गएको छ । आज बिहानै एक संक्रमितको ज्यान गएको छ ।
हिजो ४५ वर्षिया एक महिलाको मृत्यु भएको भोलिपल्ट आज विहान फेरि एक जनाको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा दमक वडा नं ५ का ८६ वर्षिय बृद्ध वीरबहादुर खड्का रहेका छन् । होम आइसोलेसनमा बसेर उपचार गराइरहेको अबस्थामा उनको आज विहान ५ः३० बजे मृत्यु भएको हो । उनलाई कात्तिक १९ गते संक्रमण पुष्टि भएको थियो ।
हिजोमात्र दमक नगरपालिका वडा नं ६ का ४५ वर्षकी कार्की थरकी महिलाको संक्रमणका कारण ज्यान गएको थियो । उनको हिजो साँझ विराटनगरको विराट मेडिकल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । उनलाई मंगलबार सोही अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २६ र झापामा ७२ पुगेको छ ।