झापा । पछिल्लो २४ घण्टाभित्र जम्मा ५ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा कम संख्या हो ।

संक्रमितहरु बिर्तामोड र दमक नगरपालिकाका छन् । दमकका १ महिला र २ पुरुष तथा बिर्तामोडका १ महिला र १ पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टाभित्र झापाका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नं २ का ३६ वर्षिय बिशाल विक रहेका छन् । दमक नगरपालिकाको कोभिड हस्पिटलबाट उपचारका लागि विराटनगरतर्फ लादै गर्दा उनको बिहान ११ बजे बाटैमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

त्यस्तै गएराति मेची प्रादेशिक अस्पताल भद्रपुरमा बुद्धशान्ति गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ । बुद्धशान्तिमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको हो ।

आजै झापा गाउँपालिका ५ की २४ वर्षिया गीता राजवंशीको धरानमा मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ८१ पुगेको छ ।