धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ । नगरका हरेक घरलाई उज्यालो बनाउने उद्धेश्यले नगरपालिकाले यसै आर्थिक बर्षदेखि यो अभियान सुरु गरेको हो ।

महालक्ष्मी नगरपालिका–४ चानुवाका बिपन्न परिवारलाई शुक्रबार सोलार वितरण गरेर अभियान सुरु गरिएको छ । अभियान उद्घाटनका अवसरमा चानुवाका पाँच परिवारलाई हरेक घरमा चार/चार वटा बत्ती बाल्न मिल्ने २० वाटको सोलार सिस्टम वितरण गरिएकोे छ ।

बिपन्न तथा भौगोलिक बिकटताका कारण बिजुली बत्तीको पहुँचमा नपुगेका चानुवाका कर्णबहादुर खड्का, सलबहादुर विश्वकर्मा, गोपाल छाला, पुष्पराज अधिकारी र मोहन अधिकारीको परिवारलाई सोलार वितरण गरिएको हो ।

चानुवामा आयोजित कार्यक्रममा संघीय सांसद राजेन्द्र राई, प्रदेश सांसद ईन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान र महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले उनीहरुलाई सोलार सिस्टम हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै महालक्ष्मी नगरपालिकाका मेयर नेपालले आर्थिक अभाव र भौगोलिक विकटताका कारण बिजुली बत्ती बाल्न नपाएका बिपन्न परिवारलाई लक्षित गरी नगरका हरेक घर उज्यालो बनाउँने उद्धेश्यले उज्यालो नगर अभियान सुरु गरिएको बताए ।

‘अहिले पनि गाउँगाउँका केही घरमा बत्ती छैन । बत्ति नहुँदा टुकी बालेर दैनिकी चलाउँनुपर्ने बाध्यता छ’, मेयर नेपालले भने, ‘आर्थिक अभाव र भौगोलिक विकटताका कारण कुनै पनि परिवार उज्यालोबाट बञ्चित नहुन् भनेर निःशुल्क सोलार सिस्टम वितरण गर्ने अभियान सुरु गरेका हौं ।’

आफुले पनि विगतमा बिजुली नहुँदा टुकी र सल्लो बालेर पढेको स्मरण गर्दै मेयर नेपालले अब कुनै पनि नगरबासीले यस्तो अवस्था झेल्नु नपरोस् भनेर सोलार वितरण थालिएको बताए ।

चानुवाबाट सुरु गरिएको यो अभियान नगरका सबै वडामा सञ्चालन गरिनेछ । बत्ती बाल्न नपाएका बिपन्न परिवारहरुबाट निवेदन संकलन गरी त्यस्ता परिवारको पहिचान गरेर सोलार सिस्टम वितरण गरिने महालक्ष्मी नगरपालिकाले जनाएको छ ।