काठमाडौँ । पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको बताए । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख २३ हजार ७५४ परीक्षणहरु गरिएका छन् ।

२४ घण्टामा जम्मा ६ हजार ७३१ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २८ हजार ८७८ छ । क्वारेन्टाइनमा रहनेको संख्या ९१० रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको १ लाख ८२ हजार ७८० संख्या पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट १ हजार २५९ जनाको मृत्यु भएको छ ।