ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको सल्लेरीमा हिजो दिउँसो भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका-२ का ट्र्याक्टरका सहचालक २३ वर्षीय दले गुरुङ रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका-२ ओझा गाउँबाट अलैँची लिएर खोक्लिङतर्फ आइरहेको लु ४ त ६५४८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको र सोही ट्र्याक्टरकै पछाडिको भागले किचेर गुरुङको मृत्यु भएको हो ।

ट्र्याक्टर चालक खोक्लिङका कृष्ण थापा फरार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्र्याक्टरमा सवार चालक थापाका छोरा पाँच वर्षीय किर्जम थापा भने घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याइएको बताइएको छ ।

फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।