झापा । झापामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका र झापा गाउँपालिकाका बृद्ध रहेका छन् ।

होम आइसोलेसनमा बसेका झापा गाउँपालिका वडा नं ७ का ७२ वर्षिय प्रेमप्रसाद कँडेलको आज बिहान ११ बजे मृत्यु भएको हो । उनलाई फोक्सोमा समस्या भएपछि मंसिर १ गते नोवेल हस्पिटल विराटनगर लगिएको थियो ।

उनको मंसिर २ गते त्यही पिसिआर परीक्षण गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनलाई डिस्चार्ज गरी घर ल्याइएको थियो । घरमा बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । झापा गाउँपालिकामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै कनकाई नगरपालिका ५ का कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ । ६६ बर्षिय जयप्रकाश मग्रान्तिको विराटनगरस्थित म्याक्स हस्पिटलबाट घर ल्याउने क्रममा एम्बुलेन्सभित्रै मृत्यु भएको हो ।

एक साताअघि अत्याधिक ज्वरो आएपछि उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो । विरामीलाई कोरोना पोजेटिभ देखिएको र आवश्यक भेन्टिलेटर अभावका कारण त्यहाँबाट म्याक्स अस्पताल लगिएको थियो । तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि घरमै ल्याउने क्रममा हिजो बेलुका ४ बजे मोरङको पथरीमा बृद्धको एम्बुलेन्समै मृत्यु भएको हो ।

हालसम्म कनकाई नगरपालिकामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए । आजै बिहान दमकमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमक ९ का ७० बर्षिय बलबहादुर धिमालको आज बिहान मृत्यु भएको हो । कात्तिक १ गते विराटनगरको नोवेल हस्पिटलमा संक्रमण पुष्टि भएका उनलाई केही दिनदेखि बिएण्डसी हस्पिटल बिर्तामोडमा राखेर उपचार गरिएको थियो ।

खर्चको अभाव र स्वास्थ्य जटिल भएपछि उनलाई हिजो बेलुका दमक नगरपालिकाको कोभिड हस्पिटलमा ल्याइएको थियो । आज बिहान २ बजे त्यही उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । उनको बेलडाँगीमा रहेको जंगलमा लाशलाई गाडेर अन्त्येष्टि गरिएको उनले जानकारी दिए । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ र झापामा ९१ पुगेको छ ।