झापा । कोरोना माहामारीका कारण यस वर्ष छठ पर्व घर–आँगनमा जलकुण्ड बनाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । नदी तथा खोलाको किनारबाटै अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक तथा परम्परागत चलन छ । तर, कोरोना महामारीका कारण यो वर्ष छठ पूजा प्रभावित भएपछि घरआँगनसँगै घरको छतमा निर्माण गरिएको कृत्रिम जलकुण्डबाट अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।

कोरोना भाइरस संक्रमणको महामारी फैलिने क्रममा रहेकोले जिल्ला प्रशासन कार्यालय झापाले यस वर्ष घर–आँगनमा कुण्ड बनाई पूजाआजा गरी मनाउन अनुरोध गरेको थियो । साथै खोला, ताल पोखरी, नदीमा गई स्नान गर्दा संक्रमण फैलिन सक्ने भएको हुँदा पण्डाल बनाई पूजाआजा गर्ने कार्य नगर्न भन्दै प्रशासनले सूचना जारी समेत गरेको थियो ।

जसका कारण यस वर्ष जिल्लाको मेची, निन्दा, हडिया, बिरीङ, देउनियाँ, कमल, कनकाई, अदुवा, माई र रतुवा लगायतका नदी तथा खोलाहरूमा ब्रतालु तथा श्रद्धालुको संख्या न्यून देखिएको छ। अघिल्ला वर्षहरू यी नदीमा छठ पूजा धुमधामका साथ मनाउने गरिन्थ्यो । तर, यस वर्ष नदी, खोला तथा पोखरीहरूमा खासै चहलपहल छैन।

सङ्क्रमणका कारण धेरैजसो व्रतालु परिवारजनले घर आगन तथा छतमै खाल्डो तथा कुण्ठ बनाएर छठ पूजा गरिरहेका छन् । न्यून संख्यामा स्थानीय व्रतालु परिवारजन नदी, खोला तथा पोखरीहरुमा भेला भएका छन् । झापामै ठूलो छठ पर्व मनाइने मेची, कन्काई र बिरिङ्गमा पनि यस वर्ष छठको चहलपहल खासै देखिएको छैन ।