बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापाका ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २८ जना महिला र २६ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी कनकाई नगरपालिकाका १४ जना रहेका छन् । जसमा ९ जना महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, भद्रपुर नगरपालिकामा ११ जनामा थप संक्रमण पुष्टि भएको छ । जसमा ७ महिला र ४ पुरुष रहेका छन् । यसैगरी बिर्तामोड नगरपालिकामा ५ महिला र ५ पुरुष संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

तर, बिर्तामोड नगर स्वास्थ्य शाखाका अनुसार आजै ८ महिलासहित १३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा नगर प्रमुख ध्रुवकुमार सिवाकोटीमा पनि संक्रमण पुष्टि भएको हो ।

यसैगरी, आज थप संक्रमित हुनेहरुमा अर्जुनधाराका ५ जना उल्लेख गरिएको छ । ३ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले आफ्नो रिपोर्टमा जनाए पनि आज कोही पनि संक्रमित नभएको बताइएको छ ।

अर्जुनधारा नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार अर्जुनधाराका ५ जना भनिए पनि सम्पर्क ठेगाना र मोबाइल नम्बर बिर्तामोड नगरबासीको रहेको छ । स्वास्थ्य शाखामा उपलब्ध रिपोर्टमा अर्जुनधारा ५ का ध्रुवकुमार सिवाकोटी उल्लेख गरिएको छ । सिवाकोटी बिर्तामोड ५ निवासी नगर प्रमुख हुन् ।

यस्तै, शिवसताक्षीमा १ महिला र १ पुरुष, मेचीनगरमा १ महिला र ३ पुरुष, बुद्धशान्तिका १ पुरुष र अन्य जिल्लाका १ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाको रिपोर्टमा उल्लेख छ ।