काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला गरिएको छ ।

२०५८ साल जेठ १९ गते भएको दरबार हत्याकान्डमा वीरेन्द्रको वंशनास भएदेखि बन्द रहेको सदन २०७७ वैशाख १ गतेदेखि खुला गर्ने भनिए पनि कोरोना महामारीका कारण बन्द नै थियो । श्री सदनको आइतबारदेखि सर्वसाधारणले अवलोकन गर्न पाउनेछन् ।

सर्वसाधारणहरुले मोटर ग्यारेजमा हिटलरले स्व राजा त्रिभुवनलाई उपहारस्वरुप दिएको कार, वीरेन्द्रले राजकीय समारोहमा प्रयोग गर्ने श्रीपेच भएको गाडी, विदेशी पाहुनाले प्रयोग गर्ने गाडी हेर्न पाउनेछन् ।

यस्तै, वीरेन्द्रले प्रयोग गरेको हेलिकोप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ ।

विसं २०२३ सालमा बनेको यो सदन तीनतलाको छ । १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र शाह श्री सदनबाट त्रिभुवन सदनमा सर्नुभएको थियो । परिवारका अरु सदस्य श्री सदनमै बस्दै आएका थिए ।