अर्जुनधारा । अनलाइन देउसी भैलो प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई पुरस्कार र खेल प्रशिक्षणबाट उत्कृष्ट हुने खेलाडीलाई प्रमाणपत्र एउटै मञ्चबाट वितरण गरिएको छ ।
जीनियस मिडिया ग्रुप प्रालि र शनिश्चरे तेक्वान्दो डोजाङले आइतबार आयोजना गरेको संयुक्त कार्यक्रमबाट पुरस्कार र प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा दुई फरक संस्थाका दुई अध्यक्षको अध्यक्षता रहेको थियो । कार्यक्रम सञ्चालक भने दुवै संस्थामा आवद्ध एक व्यक्ति थिए ।
कार्यक्रममा प्रालिद्वारा सञ्चालित मेरो रेडियो १०५ मेगाहर्जको आयोजनामा गत तिहारमा सञ्चालन भएको खुल्ला अनलाइन देउसीभैलो प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूह तथा डोजाङद्वारा फस्ट डान, फस्ट पुम, सेकेन्ड डान र सेकेन्ड पुम हुने खेलाडीहरुलाई कुकिन प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रालिका अध्यक्ष शंकर सुवेदी र डोजाङ व्यवस्थापन समितिका अध्यक्ष मदन बुढाथोकीको संयुक्त अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा देउसीभैलो प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने सरगम संगीतालय सीनीयर समूह (बिर्तामोड), सरगम संगीतालय जुनियर समूह (बिर्तामोड) र प्रगती महिला समूह (अर्जुनधारा)लाई क्रमश नगद पुरस्कार पाँच हजार, तीन हजार र दुई हजारसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
त्यस्तै अर्को कार्यक्रममा तीन जनालाई फस्ट डान, एक जनालाई फस्ट पुम, दुई जनालाई सेकेन्ड डान र एक जनालाई सेकेन्ड पुमको प्रमाण पत्र प्रदान गरिएको थियो ।
डोजाङका प्रमुख प्रशिक्षक कुमार भट्टराईका अनुसार फस्ट डान प्रमाण पत्र प्राप्त गर्नेहरुमा अभय कटुवाल, निश्चल भूजेल र मौसम चौलागाईं, फस्ट पुम प्रमाण पत्र प्राप्त गर्नेमा विशेष कार्की, सेकेन्ड डान प्रमाण पत्र प्राप्त गर्नेहरुमा अन्जु श्रेष्ठ र अनिस तामाङसँगै सेकेन्ड पुम प्रमाण पत्र प्राप्त गर्नेमा अभ्युदय वीरविक्रम भट्टराई रहेका छन् ।
प्रालिकी व्यवस्थापक पुनम सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नगर प्रमुखका निजी सचिव एवम् स्वास्थ्य शाखा संयोजक मुकुन्द बस्नेत, पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राईलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन रेडियोका प्रबन्ध निर्देशक एवम् डोजाङका प्रमुख प्रशिक्षक भट्टराईले गरेका थिए ।