दमक । झापा दमक १ का चुडामणि भण्डारीले आफनै श्रीमतीको हत्या गरेका छन् । घटनापछि प्रहरीले हत्यामा संलग्न भनिएका भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

आज साँझ ५ः३० बजेतिर कमल ६ स्थित आफ्नो खेतीमा गएको समयमा भण्डारीले ३७ बर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाई खुकुरी हतियार प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट टिकामायाको घटनास्थलमै मृत्यु भएको छ ।

घटनापछि हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए । खुकुरी प्रहार गर्ने भण्डारी केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए ।

श्रीमती अर्कैसँग लागेको शंका गर्दै उनले खुकुरी प्रहार गरेको जनाइएको छ । उनले श्रीमतीसँगै रहेका दमक २ का प्रकाश दाहाललाई पनि खुकुरी प्रहार गरेका छन् । गंभीर घाइते दाहाललाई उपचारका लागि दमकको एड्भान्स हस्पिटल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिर्तामोडको बिएण्डसी हस्पिटल पठाइएको डिएसपी पण्डितले बताए । दाहालले भागेर ज्यान जोगाएको स्थानीयहरुले बताएका छन ।