बिर्तामोड । एकैदिन झापामा ९० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाभित्र झापाका ३८ महिलासहित ९० जना संक्रमित थपिएका हुन् ।

थपिएकामध्ये सबैभन्दा बढी दमक नगरपालिकाका ४९ जना रहेका छन् । जसमा १८ जना महिला र ३१ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरु वडा नं. १ देखि ९ नम्बरसम्मका स्थानीय बासिन्दा हुन् ।

यस्तै, मेचीनगर र कनकाई नगरपालिकाका ८-८ जनामा संक्रमण पुष्टि भएको छ । मेचीनगरमा ४ महिला र ४ पुरुष, कनकाईमा ६ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी, भद्रपुर नगरपालिकामा २ महिला र ५ पुरुष संक्रमित थपिएका छन् ।

यसैगरी अर्जुनधारा नगरपालिकामा २ महिला र २ पुरुष, बिर्तामोडमा ३ पुरुष, कचनकवलमा २ पुरुष, कमलमा २ महिला, शिवसताक्षी र झापा गाउँपालिकामा १-१ महिला तथा १-१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, बुद्धशान्ति गाउँपालिकामा १ महिला र हल्दिबारी गाउँपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । पालिका नखुलेका एक जना महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यो सँगै झापामा कुल संक्रमितको संख्या ३ हजार ३६१ पुगेको छ भने कोरोनालाई जितेर २ हजार २७३ जना घर फर्किसकेका छन् । अझै ९९२ जना सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररत रहँदा झापा जिल्लामा अहिलेसम्म कोरोनाका कारण ९६ जनाले ज्यान गुमाइसकेका छन् ।