बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमणबाट झापामा तीन जना बृद्धबृद्धाको ज्यान गएको छ । यसै अवधिमा झापाका १११ जनामा संक्रमण पुष्टि पनि भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा भद्रपुरका २ जना र दमकका एक जना रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर १ र ८ की ६३ र ६८ वर्षीया महिला र दमक ९ का ८० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो । यो सँगै झापामा मृतकको संख्या ९९ पुगेको छ ।

यस्तै, आज नै झापाका १११ जना संक्रमित भएका छन् । झापाका ५१ जना महिला र ६० जना पुरुषमा संक्रमण भएको हो । सबैभन्दा बढी गौरादह नगरपालिकाका २६ जना रहेका छन् । जसमा ९ महिला र १७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, बिर्तामोडका २३ जनामा संक्रमण पुष्टि भएको छ । बिर्तामोडका १० जना महिला र १३ जना पुरुषमा भाइरस संक्रमण भएको हो । यस्तै, दमकका ११ जनामा संक्रमण भएको छ । ६ जना महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, कनकाई नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ५ महिला र ४ पुरुष रहेका छन् । यसैगरी, बुद्धशान्ति गाउँपालिकाका २ महिला र ४ पुरुष, भद्रपुरका ४ महिला र १ पुरुष, अर्जुनधाराका १ महिला र ४ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मेचीनगर, कचनकवल र शिवसताक्षीका ४-४ जनामा संक्रमण पुष्टि भएको छ । तीन वटै पालिकाका २-२ महिला र २-२ जना पुरुषमा संक्रमण भएको हो । यस्तै, हल्दिबारीका १ महिला र २ पुरुष, कमलका २ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बाह्रदशी गाउँपालिकाका १ महिला र पालिका नखुलेका ४ महिला र ४ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

हालसम्म झापामा कुल संक्रमितको संख्या ३ हजार ४७२ पुगेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या २ हजार ३२९ रहेको छ । यस्तै, सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररतको संख्या एक हजार ४४ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।