बिर्तामोड । नेकपाका नेताहरु संलग्न रहेको झापाको बालुवाटार जग्गा काण्डका मुख्य आरोपित व्यक्ति गगन पुरीलाई सम्पति शुद्धिकरण विभागले नियन्त्रणमा लिई विशेष अदालतमा पेश गरेको छ ।

धेरै दिनपछि पुरी विभागमा आफैँ हाजिर हुन पुगेपछि उनलाई विभागका अधिकारीहरुले विशेष अदालतमा पु¥याएका थिए । विशेषले उनलाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । अदालतपछि उनलाई स्वास्थ्य परीक्षण गर्न अस्पताल लगिएको छ । उनी आज बिहान झापाबाट काठमाडौ गएका थिए ।

उनी पक्राउ परेको कुरा जिल्लाका एक पूर्व माओवादी नेताले पनि पुष्टि गरे । बालुवाटार भाग २ का नाममा चर्चित सो जग्गाकाण्डलाई ढाकछोप गर्न नेकपाका केही नेताहरु लागिपरे पनि अन्ततः पुरी आफैँ विभाग गई कानुनी प्रक्रिया सामना गर्न तयार भएका हुन् ।

झापा बालुवाटारको जग्गा घोटाला काण्ड नेपालको अहिलेसम्मकै ठूलो जग्गा घोटाला काण्डको रुपमा देखिएको छ । नेपाल प्रहरीको सिआईबीले सो जग्गा घोटाला छानबिन गरेको हो। सिआईबीले अहिलेसम्मको सबैभन्दा ठूलो भ्रष्टाचार छानविन बालुवाटार घोटाला काण्ड भएको बताएको छ ।

झापाको दमक नगरमा राजमार्गबाट दक्षिणतर्फ बालुवाटार वडा नम्बर ८ मा पर्छ । काठमाडौंको बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास छ भने झापाको बालुवाटारमा नेकपाको भव्य पार्टी कार्यालय छ । सो कार्यालयको दक्षिणतर्फ ठूलो फाँट छ । त्यहिँको जग्गा झापाका नेकपाका प्रभावशाली नेता गगन पुरीको समूहले किर्ते गरेको हो।

रतुवा नदीबाट पश्चिम र दिपेनी खोलाबाट उत्तरमा रहेको सो ठाउँको जग्गा कठ्ठाको ५० लाखभन्दा धेरै पर्छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार करिब ५० बिगा जग्गा घोटाला भएको छ । ५० बिगाको करिब ५ अर्ब रुपैयाँ हुन आउँछ ।

सो जग्गामा विगतमा करिब ८८ परिवार सुकुम्वासी बस्थे । उनीहरुलाई जग्गा दिने प्रक्रिया सुरु गरिएको थियो । तर, २०४० सालतिर रतुवा खोलामा बाढी आउँदा बस्ती बगायो । पूरै वस्ती बालुवाले भरियो । उनीहरुले ठाउँ छाड्नपर्यो । जग्गाको लालपुर्जा पनि सुकुम्वासीले पाएनन् ।

पछि रतुवा खोलामा तटवन्ध बनाइयो । तटबन्ध बनेपछि विगतमा डुबेको जग्गा मूल्यवान जग्गामा परिणत भयो । सो जग्गा किर्ते गरी हत्याउने काम गरे नेकपाका नेता गगन पुरीले । उनी दमक नगरपालिकामा तत्कालीन माओवादीबाट मेयरमा उम्मेदवार बनेर पराजित भएका थिए ।