झापा । अर्जुनधारा नगरपालिकाले आज शोक विदा दिएको छ । हिजो बसेको नगर बोर्ड बैठकले शोक विदा दिने निर्णय गरेको हो ।

नगर सदस्य तथा वडा नम्बर ५ का सदस्य कुन्दन भट्टराईको निधन भएको १३औँ दिनको पुण्यतिथिमा नगरपालिकाले शोक विदा दिने निर्णय गरेको हो ।

वडा सदस्य भट्टराईको कात्तिक २८ गते उपचारका क्रममा निधन भएको थियो । फोक्सोको क्यान्सरबाट पीडित भट्टराईलाई पछिल्लो पटक कोरोना भाइरस संक्रमण भएको थियो ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्याहाङका अनुसार शोक विदामा नगरपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द हुनेछन् । तर, बर्थिङ सेन्टर र शनिश्चरे अस्पतालको आकस्मिक सेवा भने खुला हुनेछन् ।

यसैबीच, आज बुधबार दिउँसो ११ बजे नगरपालिकामा स्व. भट्टराईको स्मृतिमा शोकसभा गरिने भएको छ ।