झापा । बुधबार एकैदिन झापाका ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये ४१ जना महिला र ५३ जना पुरुष रहेका छन् ।

संक्रमितमध्ये सबैभन्दा बढी झापा गाउँपालिकाका ३४ जना रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार झापा गाउँपालिकाका १४ जना महिला र २० जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

झापापछि भद्रपुर नगरपालिकाका २२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १३ जना महिला र ९ जना पुरुष रहेका छन् । यसैगरी, दमक नगरपालिकाका ११ जनामा पनि संक्रमण पुष्टि भएको छ । यहाँका ५ महिला र ६ जना पुरुष संक्रमित भएका हुन् ।

बिर्तामोड र अर्जुनधाराका ५-५ जनामा पनि संक्रमण पुष्टि भएको छ । बिर्तामोडका १ महिला र ४ पुरुष, अर्जुनधाराका २ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको हो । शिवसताक्षीका १ महिला र २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मेचीनगर, कनकाई, बुद्धशान्ति र गौरादहका १-१ महिला र १-१ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, हल्दिबारीका २ जना पुरुष पनि संक्रमित भएका छन् भने गौरीगञ्ज र बाह्रदशीका १-१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । अन्य दुई जना संक्रमितको पालिका खुल्न नसकेकोे जनाइएको छ ।

आज झापा भद्रपुर ७ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो सँगै झापामा कुल संक्रमितको संख्या ३ हजार ६२० पुगेको छ भने निको भएर घर फर्किनेको संख्या २ हजार २२८ रहेको छ । यस्तै, सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसमा उपचाररत बिरामीको संख्या १ हजार २८९ रहेको छ । हालसम्म झापामा १०३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।