अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले वडा नं. ५ का सदस्य कुन्दन भट्टराईको १३औँ दिनको पुण्य तिथिको अवसर पारेर नगरपालिका परिसरमा शोकसभा गरेको छ ।

स्व. भट्टराईले पुराएको योगदानको उच्च मूल्याङ्कन गर्दै नगरपालिकामा बुधबार शोकसभा गरिएको थियो । नगर प्रमुख हरिकुमार रानाले स्व. भट्टराईले नगरपालिकालाई अगाडि बढाउन गरेको मार्गदर्शनको चर्चा गर्दै उनको निधनले नगरले एउटा असल ब्यक्तित्व गुमाएकोमा दुःख व्यक्त गरे ।

नगरपालिकाले भट्टराईको निधन भएको १३औँ दिनको पुण्यतिथिमा यसअघि शोक विदा दिने निर्णय गरेको थियो । वडा सदस्य भट्टराईको कात्तिक २८ गते उपचारका क्रममा निधन भएको थियो । फोक्सोको क्यान्सरबाट पीडित भट्टराईलाई पछिल्लो पटक कोरोना भाइरस संक्रमण भएको थियो ।

शोकसभामा नगरका जनप्रतिनिधि, कर्मचारीसहित नगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गलगायतको उपस्थिति थियो ।