अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे अस्पतालमा आँखा र कानको उपचार सेवा सुरु भएको छ । यो सेवा प्रत्येक साताको सोमबार र बिहीबार उपलब्ध हुने सम्झौता भएको छ ।

नगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरबृद्धि गर्दै गएको असोज ७ गते १५ शैय्याको अस्पताल स्थापना गरिएको थियो । अस्पतालको स्तरोन्नति गर्ने क्रममा आँखा र कानको उपचार सेवा पनि सुरु गरिएको हो । तिहार अघिदेखि नै सेवा सुचारु गरिए पनि औपचारिकरुपमा बिहीबार उद्घाटन गरिएको हो ।

अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले उपचार सेवाको शुभाराम्भ गरे । त्यस क्रममा उनले आँखा र कानको परीक्षण पनि गराएका थिए । बिर्तामोड ३ स्थित विर्ता बजारमा रहेको मेची दृष्टि आँखा उपचार केन्द्रको सहकार्यमा उपचार सेवा सुरु गरिएको हो ।

शनिश्चरे अस्पतालले उपलब्ध गराउने सेवा सुविधा विस्तार गर्ने क्रममा आँखा र कानको उपचार सेवा थप गरिएको उनले बताए । आँखा र कानको उपचार हुन नसकेको अवस्थामा दृष्टिले यो सेवा पनि पूरा गरिदिएको भन्दै मेयर रानाले कृतज्ञ व्यक्त गरे ।

‘समय सापेक्ष र आवश्यकताअनुसार अस्पतालको स्तर बृद्धि गर्दै लगेका हौँ’, उनले भने, ‘पहिलेभन्दा अहिले अस्पतालबाट प्रभावकारी काम भइरहेको आभाष भएको छ ।’ उनले दक्ष कर्मचारीको नेतृत्वले राम्रो काम गरेको खण्डमा परिणाममुखी काम हुन सकेको उनको भनाइ थियो ।

अस्पतालमा युवा जनशक्ति भएकाले सेवा प्रभावकारी भएको भन्दै उनले कर्मचारीको प्रशंसा पनि गरेका थिए । अस्पतालमा औषधि अभाव हुने खबर प्राप्त भएको भन्दै उनले माग नगरिएको हो कि ? गरिएर पनि स्वास्थ्य शाखाले अटेर गरेको हो ? एकआपसको दूरी कम गर्न उनले निर्देशन दिएका छन् ।

उनले प्रक्रिया पूरा गरेर पेपर वर्क तयार गरे औषधिको अभाव नहुने भन्दै प्राविधिक त्रुटि नगर्न सुझाएका छन् । सेवा प्रवाहमा कुनै कमी कमजोरी नगर्न पनि उनले निर्देशन दिए ।

सहकार्य गरेको दृष्टिका संस्थापक सञ्चालक राम उप्रेतीले स्थानीय तहसँग सहकार्य गरी स्वास्थ्य सेवा दिन पाउँदा खुसी लागेको सुनाए । उनले सेवाग्राहीको चाप भएको अस्पताल तथा स्वास्थ्य केन्द्रमा दृष्टिले सहकार्य गर्ने पनि जानकारी गराए ।

दृष्टिका मेडिकल डाइरेक्टर शेषकान्त अर्यालले सहकार्यपछि ओपीडी सेवा निशूल्क प्रदान गर्ने भन्दै आँखा तथा कानको उपचारमा स्वास्थ्य बीमाबाट पनि सुविधा लिन सकिने बताए ।

उनका अनुसार अब शनिश्चरे अस्पतालमा आँखा र कानका चिकित्सकसहित दृष्टिका ८ जना कर्मचारीले स्वास्थ्य सेवा दिनेछन् ।

अस्पतालका सिनियर अहेव डम्बर बल्लभ मिश्रले अस्पतालका बारेमा संक्षिप्त जानकारी गराएको कार्यक्रममा नेकपा अर्जुनधाराका अध्यक्ष प्रेमसागर सापकोटा, नेकाका सभापति हेमराज खरेललगायतले आफ्ना भनाइ राखेका थिए । व्यवस्थापन समितिका अध्यक्ष तथा ९ नम्बर वडाध्यक्ष पुष्प प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ल्याव टेक्निसियन केशव अधिकारीले गरेका थिए ।

२०५५ सालमा स्वीकृत प्राथमिक सेवा केन्द्रको स्तर बृद्धि गरी अस्पतालमा परिणत भएको यस अस्पतालले २४ घण्टे आकस्मिक सेवा, आमा सुरक्षा कार्यक्रम, भिडियो एक्सरे, एक्सरे, ल्याव, थाइराइड परीक्षण, इसीजी सेवा, ओपीडी र स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आएको सिनियर अहेव मिश्रले जानकारी दिए ।

उनका अनुसार यस अस्पतालमा डा. रविन्द्र ओलीको नेतृत्वमा ४० जना स्थायी, करार र ज्यालादारी कर्मचारीले सेवा उपलब्ध गराउँदै आएका छन् ।