झापा । चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन् । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो ।

नेपालमै पहिलोपल्ट सो प्रजातिको चरा भेटिएको उनको जिकिर छ । चराका बारेमा पुस्तक लेख्दै आएका डा हेमसागर बरालले उक्त चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गरिसकेका छन् । ‘मैले यही मङ्सिर ९ गते बिहान ८ः३० बजेतिर चराहरुको खोजी गर्दै जाँदा सिमलको रुखमा चार वटा अनौठा परेवाजस्ता चरा देखेँ’, मेचीनगर-६ निवासी खरेलले भने, ‘फोटो खिचेर पक्षी संरक्षण सङ्घ र डा बराललाई पठाएँ, उहाँले यो पक्षी हरित परेवा रहेको र पहिलोपल्ट भेटिएको पुष्टि गर्नुभयो ।’

चराहरुको खोजी र संरक्षणमा पाँच वर्षदेखि लागिरहेका उनले झापा, इलाम, सुनसरी, चितवनलगायत स्थानमा डुलेर पक्षीको तस्वीर खिच्ने र तिनको संरक्षणका लागि जनचेतना जगाउने काम गर्दै आएका छन् ।

नेपालमा ८८६ प्रजातिका चरा भएको आधिकारिक तथ्याङ्क छ । हरित परेवालाई अहिलेसम्म पाइने चराको सूचीमा राखिएको छैन । अब चराहरुको प्रजाति ८८७ पुगेको मान्नुपर्ने चरा खोजकर्ता खरेलले जिकिर गर्नुभयो ।

घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने भएको हुँदा सो प्रजातिको परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ ।

हरित परेवा पाइनु चरा संरक्षण र चरा पर्यटनका दृष्टिले ठूलो उपलब्धि मानिएको छ । मेचीनगरका मेची र नन्दा नदीको किनारका दलदले क्षेत्र र इलामसँगको सिमानामा रहेको चुरे जङ्गल क्षेत्रमा ३०० प्रजातिका चराको बासस्थान भएको बताइन्छ । उनले ती चरालाई संरक्षण गरी पर्यटक आकर्षित गर्न सकिनेतर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताए । रासस