झापा । जनता समाजवादी पार्टी नेपालका झापा जिल्ला सचिवालय सदस्य युवा नेता आकाश राई (अमर)को निधन भएको छ । झापाको अर्जुनधारा १ निवासी राईको आज निधन भएको हो । उनी स्थानीय समाजसेवी युवा नेताका रुपमा परिचित थिए ।

घुमफिरका क्रममा धनकुटाको नमस्ते झरना पुगेका नेता राई फर्किने क्रममा बाटोमा बिरामी परेका थिए । मोटरसाइकलमा फर्किने क्रममा आधा बाटोमै पेट दुखेपछि उनले मोटरसाइकल रोकेर केही क्षण आराम गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल रोकेर आराम गर्ने क्रममै उनी बेहोस भएको आकाशकै मोबाइलमा सम्पर्क गर्दा धरान प्रहरीले रिसिभ गरेर जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनको एपेन्डिक्सका कारण मृत्यु भएको अनुमान गरिएको छ । बेहोश अवस्थामै उनलाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुराइएको थियो । तर, उपचार अघि नै चिकित्सकले उनलाई मृत घोषित गरेको बताइएको छ ।

चिकित्सकले आज दिउँसो २ बजे नै मृत भइसकेको जनाएको राईको मृत शरीरलाई अहिले पोष्टमार्टमका लागि शव गृहमा राखिएको छ । भोलि बिहान पोष्टमार्टमपछि मात्र परिवारलाई जिम्मा दिइने बताइएको छ ।

घटनाको जानकारी पाएपछि उनकी श्रीमती, दाजु र स्थानीय युवा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् ।