भद्रपुर । प्रतिबन्धित लागु औषधसहित झापा प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट ८ जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो ४ बजे भद्रपुर ४ डाँगीबारीमा भारतबाट नेपालतर्फ लागूऔषध ल्याउँदै गर्दा भद्रपुर ४ बस्ने १९ वर्षिय पुष्कर थापा, वडा नं ५ बस्ने २६ वर्षिय मदन विक, वडा नं ४ बस्ने २१ वर्षिय राजन माझी र हल्दीबारी १ बस्ने ३२ वर्षिय लोकेन्द्र गुरागाईलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ७ ग्राम ब्राउनसुगर सहित प्र १–०१–०१२प ७१७५ नंको मोटरसाईकल बरामद गरी आइतबार सम्मानित झापा जिल्ला अदालत भद्रपुरबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान अगाडि बढाईएको प्रहरीले बताएको छ ।

त्यसैगरी आइतबार बिहान ११ बजे भद्रपुर ४ नरसिंह बगानबाट भारतीय नागरिक बिहार गलगलिया ४ बस्ने ५९ वर्षिय ऐजुब महमद अली र सोही ठाउँका १९ वर्षिय महमद जबरलाई ५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरी कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन् ।

यसैगरी, बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक ध्रुबनारायण श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले हिजो दिउँसो २ बजे शिवसताक्षी ६ हवल्दार चोकमा मे ५ प ५०३२ नं. को मोटरसाईकलमा आउदै गरेका चालक शिवसताक्षी ४ बस्ने २६ वर्षिय श्याम मर्डी र पछाडि सवार सोही ठाउँका ३५ वर्षिय गंगाराम कायस्थलाई पक्राउ गरेको हो ।

रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट २३ ग्राम ब्राउनसुगर, मोबाईल २ थान र नगद एक लाख चौरासी हजार रुपैयाँ बरामद गरिएको छ । लागुऔषध, नगद र मोटरसाइकलसहित उनीहरुलाई कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।