झापा । मेचीनगर नगरपालिका ४ का ५० बर्षीय पूर्णबहादुर प्रधानको कुटपिटका कारण मृत्यु भएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङ पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार आइतबार राति सवा ८ बजे सामान्य वादविदको विषयलाई लिएर तीन जनाको समुहले प्रधानलाई निर्घात कुटपिट गर्दा घाईते भएका थिए । घाइते प्रधानलाई उपचारको लागि धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो । उनको उपचार कै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।
प्रधानको उपचारको क्रममा राति साढे ९ बजे मृत्यु भएको थियो । घटनालगत्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न तीनै जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरी कार्यायले जनाएको छ ।