0 Shares

खुदुनाबारी । झापाको अर्जुनधारा २ स्थित सहकालेमा वाय खोप केन्द्रको स्थापना गरिएको छ । नगर क्षेत्रकै अति दुर्गममा पर्ने सो क्षेत्रमा वाय खोप केन्द्रको स्थापना गरिएको हो ।

नगरपालिकाका अनुसार ७ लाख खर्चिएर २ कोठाको भवन निमार्ण गरिएको छ । सामान्य स्वास्थ्य खोप तथा उपचारका लागि सो क्षेत्रका स्थानीय बर्षौंदेखि दुई तीन घण्टा पैदल हिंडेर रोङ गाउंपालिका तथा खदुनुबारी जानुपर्ने बाध्यता थियो । अब वाय खोप स्थापना भएसंगै स्थानीयलाई सहज भएको छ । सो स्थानमा ३० परिवारको बसोबास रहेको छ ।

भौगोलिक विकटताका कारण बर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीय वायो खोप केन्द्र स्थापना भएसंगै खुसी देखिएका छन् । ‘स्थानीय सरकारले हाम्रो समस्या बुझिदिएकोमा हामी खुसी छौं’, स्थानीय धनबाहादुर राई भन्छन्, ‘अहिले मात्र हामीले स्थानीय सरकार भएको महशुस गर्न पायौं ।’

त्यस्तै, स्थानीय कला बस्नेतले पनि बषौंदेखि धेरै नै दुःख तथा सास्ती खेप्दै आएकोमा अब भने सामान्य उपचारका लागि टाढा टाढा जानु नपर्ने भएको भन्दै खुसी व्यक्त गरिन् ।

सो खोप केन्द्रबाट हरेक महिनाको १४ गते स्थानीयलाई सेवा प्रदान गरिने बताइएको छ । नवनिर्मित वाय खोप केन्द्रको आइतबार नगर प्रमुख हरिकुमार राना र कर्मचारीको टोलीले अनुगमन गरेको थियो । नगरप्रमुख रानासहित कर्मचारीको टोली आवश्यक स्वास्थ्य सामग्री लिएर अवलोकनका लागि गएको थियो ।

नगर प्रमुख हरिकुमार रानाले नगर क्षेत्रकै विकट र दुर्गम स्थानको रुपमा रहेको सहकालेलाई अगाडि बढाउन आफूहरु तयार रहेको बताएका थिए । साथै उनले खोप केन्द्र अवलोकन गर्दै स्थानीयका समस्यालाई सम्बोधन गरिने पनि बताए ।

सो क्षेत्र अवलोकनका लागि नगरप्रमुख राना, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङसहित २ वडाध्यक्ष रघुनाथ खनाल, स्वास्थ्य, पशु, कृषि शाखाका प्रमुख, कार्यपालिका सदस्यसहितको टोली पुगेको थियो ।