0 Shares

झापा । पछिल्लो २४ घण्टामा झापाका ५९ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २३ जना महिला र ३६ जना पुरुष रहेका छन् ।

यसैगरी, कोरोनाबाट झापाका थप ३ व्यक्तिको ज्यान गएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार मृत्यु हुनेमा शिवसताक्षी नगरपालिकाका २ जना र दमक नगरपालिकाका एक जना रहेका छन् ।

शिवसताक्षी ८ की ३६ वर्षीय महिला र सोही वडाका ८७ वर्षीय बृद्धको कोरोनाबाट मृत्यु भएको हो । यस्तै, दमक ३ का ८२ वर्षीय बृद्धको पनि कोरोना संक्रमणबाट निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

झापामा २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये सबैभन्दा बढी भद्रपुर नगरपालिकाका १६ जना रहेका छन् । जसमा ८ जना महिला र ८ जना पुरुष हुन् । भद्रपुरपछि बिर्तामोडका १५ जनामा संक्रमण पुष्टि भएको छ ।

बिर्तामोडमा थपिएका संक्रमितहरुमा ६ जना महिला र ९ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार कनकाई र शिवसताक्षीमा ४ ४ जना संक्रमित भएका छन् । कनकाईका ४ जना पुरुष र शिवसताक्षीका २ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, अर्जुनधाराका १ महिला र २ पुरुष, मेचीनगर र कचनकवलका १-१ जना महिला, बुद्धशान्ति र गौरादहका १-१ जना पुरुष तथा पालिका नखुलेका ६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो सँगै झापामा कुल संक्रमितको संख्या ३ हजार ९२० पुगेको छ भने कोरोना जितेर झापाका २ हजार ५५२ जना घर फर्किएका छन् । सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररतको संख्या १ हजार २५५ रहेको छ ।