तेह्रथुम । तेह्रथुमको छथरका स्थानीय बासिन्दाले अझै जग्गाको लालपुर्जा हात पार्न सकेका छैनन् । बजारमा धमाधम नयाँ बस्ती निर्माण भइरहेको छ । तर, घर बनाएर बसेकाहरुले भने लालपुर्जा नपाउँदा समस्यामा परेका छन् ।

छथरको शुक्रबारे बजार । जिल्लाको पश्चिमी क्षेत्रको मुख्य बजार हो यो । यहाँ करिब ३०० घर निर्माण भएका छन् ।सामान्य र पक्की घर बनाउनेक्रम बढ्दै गएको छ । शिक्षा, स्वास्थ्य र यातायतले विकास लिँदै गरेको बजार हो यो ।

अव्यवस्थितरुपमा रहेको यस बजार विकास हुनेक्रम बढ्दो छ । बजार विस्तारसँगै भौतिक पूर्वाधारहरु निर्माणकार्यले पनि गति लिन थालेको छ । तर, छथर क्षेत्रको केन्द्रको रुपमा रहेको यो बजारमा लाखौं रुपैयाँ लागनी गरेर निर्माण गरिएका करिब २५० घर अझै लालपुर्जाविहीन छन् ।

बजारमा निर्माण गरिएका घरहरुको लालपुर्जा नहुँदा मूल्यहीन बनेको स्थानीय चूडामणि जोशीको गुनासो छ । यस बजारमा निर्माण भएका घरहरुलाई लालपुर्जा वितरणका लागि विभिन्न समयमा पटक-पटक प्रयास नभएका भने होइनन् ।

नेपाल सरकारलाई यहाँका स्थानीय निकाय तथा बजार व्यवस्थापन समितिले सिफारिस गरेर माग गर्दासमेत सुनुवाइ नभएको बजार व्यवस्थापन समितिका सचिव धामबहादुर कार्कीले बताउनुभयो ।

२०५८ सालमा गठित आयोगले यहाँका ६० घरलाई धनीपुर्जा वितरण गरेको थियो । तर, ती धनीपुर्जासमेत काम नलाग्ने भएका छन् । पुर्जामा १० वर्षसम्म बिक्री तथा लेनदेनसमेत गर्न नपाइने जनाइएको थियो ।

पुर्जा वितरण गरेको १९ वर्ष बितिसक्दा पनि अन्य घरहरुले पुर्जा पाउन सकेका छनैन् । स्थानीय सरकारले लालपुर्जा वितरणसम्बन्धी ऐन तयार गरी प्रक्रिया अगाडि बढाइएको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।

सरकारले लालपुर्जा वितरण गर्न नसक्दा बजारबाट प्राप्त हुने कर गुमाइरहेको छ । त्यसैले पनि अव्यवस्थितरुपमा रहेको यो बजारमा निर्माण गरिएका घरहरुलाई लालपुर्जा वितरण गरी कानुनी दायरामा ल्याउन आवश्यक भइसकेको छ ।