काँकरभिट्टा । झापाको मेचीनगर ६ काँकरभिट्टामा रहेको होल्डिङ सेन्टर अन्ततः हटाइएको छ । ब्यापक जनदबाव र आम ब्यवसायीको लगातारको विरोधपछि मेचीनगर ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा रहेको होल्डिङ सेन्टर हटाइएको हो ।

जसका लागि भन्सार गेट नजिक नगरपालिकाको ब्यवस्थापनमा हेल्थ डेस्कको व्यवस्था गरिएको छ । सोही डेस्कमा प्रशासनको सहकार्यमा प्रारम्भिक स्वास्थ्य चेक जाँच गरी नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई गन्तब्यतर्फ पठाइने भएको छ ।

मेचीनगर वडा नं ६ का अध्यक्ष ललित तामाङले अब भारतलगायत तेस्रो मुलुकबाट आउने नेपाली नागरिक सोझै गन्तब्यतर्फ जान दिने वातावरणको सिर्जना गरिएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय मातहतमा रहेको होल्डिङ सेन्टरको ब्यवस्थापन सोही अनुसार रहने गरी स्थानान्तरण मात्र गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताउनुभयो ।

डिएसपी पोख्रेलले भन्नुभयो, ‘होल्डिङ सेन्टर हटेको नभई ठाउँ मात्र सारिएकोे हो, नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई अब नाकामै चेकजाँच एवं अभिलेख राखिन्छ र सोेझै गन्तब्यतर्फ पठाउने ब्यवस्था मिलाइनेछ ।’

विगत ८ महिनादेखि सञ्चालनमा रहेको होल्डिङ सेन्टरका कारण विद्यालयको पठनपाठनमा समेत असुविधा भएको गुनासो बढेको थियो ।

त्यस्तै पर्यटन, होटल तथा यातायात ब्यवसायीले होल्डिङ सेन्टरमा पर्यटक र आगन्तुकसंग मनोमानी ढंगमा भाडा असुल्ने गरेको र बेथिति बढेको गुनासो गरेका थिए । स्थानीय ब्यवसायीहरुले दैनिक जसो जुलुस, विरोध प्रदर्शन गर्दै आएका थिए ।