इलाम । जिल्ला अस्पताल इलामले अस्पतालभित्र भिडभाड नगर्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेकाले सिकिस्त बिरामीबाहेक अन्यलाई अस्पताल नआउन आग्रह गरेको हो ।

केही दिनयता इलाम नगपालिका क्षेत्रमा कारोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । इलाम अस्पतालले सूचना जारी गर्दै अस्पतालका स्वास्थ्यकर्मी, ल्याव कर्मचारी र प्रशासनका कर्मचारीमा संक्रमण भइसकेकाले अनावश्यक भिडभाड नगर्न आग्रह गरिएको मेसु प्रभु साहले बताए ।

इलाम जिल्लाका विभिन्न पालिकामा दैनिक संक्रमितको संख्या बढ्दो क्रममा छ । पछिल्लोपटक इलाम नगरपालिका कोरोना संक्रमणको उच्च जोखिमा परेको छ । जिल्लाको सदरमुकामसमेत रहेको नगर क्षेत्रमा संक्रमितहरुको संख्या बढ्न थालेको हो ।

हिजो (बुधबार) मात्र इलाम नगरपालिकामा १५ जनामा संक्रमण पुष्टि भएको छ । २० जनाको परीक्षण गर्न पठाइएकोमा १५ जनामा संक्रमण देखिएको कोभिड फोकल पर्सन बिमल बरालले बताए । गत मंसिर १४ गते समेत इलाममा १८ जनामा संक्रमण देखिएको थियो ।

हालसम्म नगर क्षेत्रबाट परीक्षणका लागि पठाइएको १ हजार ६६५ जनामध्ये ११७ जनामा संक्रमण देखिइसकेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । २३ जनाको रिपोर्ट आउन बाँकी छ । एक जनाको रिपोजेटिभ देखिएको छ । ७२ जना उपचारपछि फर्किएका छन् । जिल्लाको दोश्रो बढी संक्रमित देखिने क्षेत्रमा सूर्योदय नगरपालिका रहेको छ ।

सूर्योदयको हालसम्म १ हजार १७९ जनाको परीक्षण गर्दा ३७ जनामा संक्रमण देखिएको छ । माई नगरपालिकामा ६३३ जनाको परीक्षणबाट ३२ जनामा संक्रमण देखिएको छ । माईमा १४ जना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ ।

चुलाचुली गाउँपालिकामा ५४९ जनाको परीक्षण गर्दा २६ जनामा पोजेटिभ देखिएको छ । २४ जना उपचारपछि घर फर्किएका छन् भने ९ जनाको रिर्पोट आउँन बाँकी रहेको छ । रोङ गाउँपालिकामा १ हजार ११ जनाको परिक्षण गर्दा ९ जनाको पोजेटिभ आएको छ । ८ जना उपचारपछि घर फर्किएका छन् । १ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

सन्दकपुर र माईजोगमाई गाउँपालिकामा ८ ८ जनामा संक्रमण देखिएको छ । सन्दकपुर ३२५ जनाको परीक्षण गरिएको थियो । सबै संक्रमणमुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । माईजोगमाईमा २३० जनाको परीक्षण गर्दा ६ जनाको रिपोर्ट आउन बाँकी छ । ७ जना उपचारपछि सामान्य जीवनमा फर्किएका छन् ।

फाकफोकथुममा ३६७ जनाको परीक्षणबाट संक्रमण पाइएका ५ जना अहिले सामान्य जीवनमा फर्किएका छन् । ३९३ जनाको परीक्षण गरिएको देउमाई नगरपालिकामा देखिएका ४ जना संक्रमित अहिले सामान्य अवस्थामा फर्किएका छन् ।

सबैभन्दा कम संक्रमित माङसेबुङ गाउँपालिका रहेको छ । माङसेबुङमा ११९ जनाको परीक्षणमा २ जना पोजेटिभ पाइएको थियो । उनीहरु अहिले संक्रमणलाई जितेर फर्किएका छन् । जिल्लामा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।