अर्जुनधारा । कोभिड १९ का कारण अर्जुनधारा नगर क्षेत्रमा देखिएका समस्याको पहिचान र कार्य योजना निर्माणसम्बन्धी एकदिने गोष्ठि अर्जुनधारामा सम्पन्न भएको छ ।
मानवअधिकार समूह अर्जुनधाराको आयोजनामा खाद्य, आवास, शिक्षा, महिला बालबालिका र स्वास्थ्यका क्षेत्रमा परेको प्रभाव, कोभिडकै कारण सिर्जित समस्याको पहिचान गरी योजना बनाइने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मानवअधिकार समूह अर्जुनधाराका कार्यक्रम संयोजक राजन साम्पाङले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले नगरले आव २०७६/०७७ का लागि तयार पारेको सबै योजना कोभिड १९ का कारण प्रभावित भएको बताए ।
विकास निर्माणसँगै शिक्षा, कृषि, पशुलगायत सबै क्षेत्रको योजना सम्पन्न हुन बाँकी बजेट कोरोना कोषमा लगाउन केन्द्रीय सरकारको निर्देशन भएकाले नगरले तय गरेको पूर्व योजनाका काम गर्न नसकिएको उनको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य शाखाका संयोजक मुकुन्द बस्नेत, महिला तथा बालबालिका शाखा प्रमुख सुमित मगर, शिक्षा शाखाकी नासु समिरा दाहाललगायतले विषयगत समस्या र वर्तमान वस्तुस्थितिका बारेमा आफ्ना भनाइ राखेका थिए ।
कार्यक्रममा समूहका अध्यक्ष चन्द्र सुवेदीले नगरका समसामयिक विषयमा आयोजना गरिएको कार्यक्रममा नगरकै शाखा प्रमुखहरु उपस्थित नभएपछि गुनासो गरे । गतवर्ष पनि कार्यक्रम आयोजना गरी निमन्त्रणा गर्दा पनि शाखा प्रमुखहरु नआएको भन्दै अपमानित महसुस भएको उनले सुनाए ।
नगरपालिका कार्यालयका पाँच वटा शाखाका प्रतिनिधिलाई सहभागी गराएर विषयगत समस्याको पहिचान र कार्य योजना निर्माण गर्ने क्रममा विभिन्न समूह विभाजन गरी राय सुझाव संकलन गरिएको छ ।
सुझावका आधारमा निश्कर्ष निकालेर विषयगत शाखासँग समन्वय गरी कार्य योजना तयार गरिने कार्यक्रम संयोजक साम्पाङले जानकारी दिए । कार्यक्रममा समूहकी सदस्य सीता भारतीले स्वागत गरेकी थिइन् ।