गणेश घिमिरे,
इलाम । २०७० सालमा डिभिजन सडक कार्यालय इलामले डीपीआर गरेको सडकको रुट गाउँपालिकाले परिवर्तन गरेर बाटो खन्न थालेपछि स्थानीयबासी आक्रोशित भएका छन् । सर्भे भइसकेर ठेक्का लागेको सडकमा गाउँपालिका अध्यक्ष उदयबहादुर राईले आफ्नो निजी स्वार्थमा अर्को तर्फबाट सडक खन्न लगाएको भन्दै सोमबार स्थानीयले सडक निर्माणमा अवरोध गरेका हुन् ।

इलाम नगरपालिका-५ बिब्ल्याँटे–सन्दकपुर गाउँपालिकाको सन्दकपुर सडकखण्डअन्तर्गत बिब्ल्याँटे-सातखाल्डे सडक खण्डमा अध्यक्ष राईले रुट परिवर्तन गरेर सडक खन्न लगाएको स्थानीय मनकुमार सुनारले बताउनुभयो । अध्यक्ष राईले विस्तृत परियोजना प्रतिवेदनलाई उल्लंघन गरेर निजी स्वार्थमा लागेर काम अघि बढाएको उहाँको आरोप छ ।

स्काभेटर लगाएर खन्न थालेको सडकमा स्थानीयले सोमबार अवरोध पु¥याएका थिए । स्थानीयबासी सडकमै सुतेर धर्नामा बसेका हुन् । सन्दकपुर गाउँपालिका-१ को दारीभञ्ज्याङ हुँदै सडकको डीपीआर गरिएको थियो । सर्भे गरेको भन्दा माथिल्लो क्षेत्रबाट सडक खनिएको खण्डमा उक्त क्षेत्रमा पाँच घर-परिवार नै विस्थापित हुने अवस्था आउने र रामसार सूचीमा सूचीकृत पवित्र धार्मिकस्थल माईपोखरीलाई पनि प्रत्यक्ष असर पुग्ने देखिन्छ ।

अध्यक्ष राईले आफ्नो जग्गाबाट सडक खन्न खोजेको एक स्थानीय प्रदर्शनकारीले बताए । सडक डिभिजन कार्यालयमार्फत सञ्चालनमा आएको यस आयोजनामा गाउँपालिका अध्यक्ष राईले जबरजस्ती सडक खनाउन खोजे पनि आक्रोशित स्थानीयले सडक निर्माणमा अवरोध पु¥याएका थिए ।

२०७० सालमा दारीभञ्ज्याङ हुँदै सडकको डीपीआर भए पनि अध्यक्ष राईले तीनकुने हुँदै सडक खन्न लगाएपछि समस्या उत्पन्न भएको हो । पहिले सर्वे गरिएको सडकमा ट्रयाकसमेत खुलिसकेको र सो सडकमा सवारीसाधनसमेत सञ्चालन भइरहेको छ । त्यस सडकमा धेरै लगानीसमेत भएकाले रुट परिवर्तन गर्न नहुने स्थानीय सन्तोष खतिवडाको भनाइ छ । २ करोड ८८ लाख रुपियाँमा ठेक्का सम्झौता भई सडक निर्माणको काम भइरहेको छ ।

सडक डिभिजन कार्यालय इलामका इन्जिनियर वीरेन्द्र यादवले डीपीआर भइसकेको सडकको रुट परिवर्तन गर्न नमिल्ने बताउनुभयो । अध्यक्ष राईले भने आफूले कुनै निजी स्वार्थमा सडक खन्न नलगाएको दाबी गर्दै सो क्षेत्रका तीनवटा सडकको पहिले नै सर्भे भइसकेकाले सडक खन्न लगाएको बताउनुभयो ।यता स्थानीयबासीले सडक डिभिजन कार्यालयमा सो विषयमा हस्ताक्षरसहितको ध्यानकर्षणपत्रसमेत बुझाएका छन् ।