भारतको पानीटंकी नाकामा सुरक्षा जाँचमा लामवद्ध नेपालीहरु बाहिरिँदै ।

काँकडभिट्टा । कोरोना संक्रमणका कारण ९ महिनादेखि नेपाल-भारत सीमानाका बन्द गरिएको छ । तर आउजाउ भने निर्बाध छ । भारतबाट आउनेको दिनहुँ लर्को लागिरहे पनि न उनीहरूको स्वास्थ्य परीक्षण हुन्छ न त क्वारेन्टाइनमै बस्न पर्छ ।

बुधबार बिहान करिब ५ सय जना मेची पुल तरेर भारततिर लागे । लगभग त्यति नै संख्यामा भारतबाट नेपाल भित्रिए । आउने-जानेको भिडले पूर्वी सीमानाका अस्तव्यस्त हुन थालेको छ ।

सुरक्षाकर्मीका अनुसार भारतबाट आउने र यताबाट जानेको संख्या लगभग बराबरी नै छ । स्वास्थ्य उपचार, रोजगारी तथा किनमेलका लागि भारत जाने क्रम बढेको छ । भारतबाट भित्रिनेमा आँखाको उपचारका लागि आएकाहरू तथा विभिन्न कारखानाका श्रमिक छन् । ‘भारतीयलाई गृह मन्त्रालयको पत्रका आधारमा प्रवेश दिइरहेका छौं’, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले भने ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सीमामा आउजाउ गर्नेहरूका लागि थोरै लचिलोपन अपनाइएको जनाए । ‘भारतबाट आउनेहरूलाई पुलकै मुखमा बसेका सुरक्षाकर्मीले रेकर्ड अपडेट गर्नेछन्’, उनले भने, ‘शंकास्पद पाइए स्वास्थ्यकर्मीको जिम्मा लगाइनेछ ।’

सीमानाका नखोलिँदा सीमान्त सहरमा व्यापार-व्यवसाय गर्नेहरू प्रभावित बनेको भन्दै स्थानीय व्यवसायीले नाका थप सहज बनाउन माग गरेका छन् । खास गरी होटल, यातायात र पर्यटनजस्ता व्यवसायमा धेरै असर परेको उनीहरूको भनाइ छ ।

मेचीनगर क्षेत्रमा करिब ३ सय होटल र २० वटाभन्दा बढी ट्राभल व्यवसाय सञ्चालित छन् । तीमध्ये करिब २० वटा होटल बन्द भइसकेका छन् । ‘लामो समयदेखि नाका नखुल्दा व्यवसायीहरू पलायन हुन थालेका छन्,’ होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले भने, ‘अझै यस्तै अवस्था रहिरहे सबै होटल व्यवसायमा सटर लाग्न सक्छ ।’ उनका अनुसार होटल व्यवसायी बिनाआम्दानी भाडा तिर्न बाध्य छन् ।

मेचीनगरको ट्राभल एजेन्सी व्यवसाय पनि धराशायी बनेको छ । यहाँको ट्राभल व्यवसाय भारतीय पर्यटककै भरमा चलेको थियो । होटल व्यवसायी संघका केन्द्रीय सचिव राजु अधिकारीले लामो समयदेखि सरकारले गरेको सीमाबन्दीका कारण पर्यटक आवागमन नभएको र यसले नगरका व्यवसायीलाई लाखौं आर्थिक व्ययभार परेको बताए । ‘अब स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटकको आवागमन सहज बनाउनुको विकल्प छैन’, उनले भने । कान्तिपुरबाट