विराटनगर । प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरको सुरक्षित व्यवस्थापन गर्ने भएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयद्वारा बुधबार आयोजित अस्पतालको फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रममा त्यस्ताे जानकारी गराएका हुन् ।

उनले विभिन्न अनुसन्धानबाट अव्यवस्थित फोहाेर व्यवस्थापनबाट समुदायमा सङ्क्रमण फैलिने देखिएकाले प्रदेशका १४ जिल्लाकै सरकारी अस्पतालका फोहोरलाई सुरक्षित व्यवस्थापनका लागि काम शुरु भइसकेको जानकारी दिए ।

उनले निजी अस्पतालको फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै विराटनगरमा निजीस्तरबाट सञ्चालित अस्पतालको फोहोर व्यवस्थापनका लागि प्रदेश सरकार, महानगरपालिका र निजी क्षेत्रको त्रिपक्षीय साझेदारी मोडलबाट काम गर्ने तयारी भइरहेको बताए । मन्त्री घिमिरेले फोहोर व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको धारणा व्यक्त गरे ।

प्रदेश जनस्वास्थ्य निर्देशनालयका डा। सुरेश मेहताले सरकारी अस्पतालको फोहोर व्यवस्थापनका लागि बजेटसमेत विनियोजन भएको जानकारी दिए । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले अस्पतालको फोहोर व्यवस्थानका लागि ‘फोहोर जलाउने नभई कमाउने’ माध्यमका रूपमा कार्य शुरु गरिएको बताए ।

अस्पतालजन्य फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्था हिकाफ ३६० का कार्यकारी निर्देशक महेश नकर्मीले इनरुवा अस्पताल र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरको फोहोर व्यवस्थापनसम्बन्धी अध्यययन प्रतिवेदन प्रस्तुत गरेका थिए । रासस