सांकेतिक तस्वीर ।

पाँचथर । मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा हिलिहाङ १ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ २ की अन्दाजी २० वर्षीया मुना पाख्रिन रहेकी छिन् ।

मेची राजमार्गअन्तर्गत हिलिहाङ १ स्थित दुवीचौरमा सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा मे. ४ प ८९४ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई स्थानीयवासीले आज बिहान फेला पारेका थिए ।

प्रहरी र स्थानीयवासीले दुवैलाई उद्धार गरी जिल्ला अस्पताल ल्याएकामा कालिकोटेलाई चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते भएकी पाख्रिनलाई थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झरेको प्रहरीको अनुमान छ । मोटरसाइकल सडकबाट करिब ३० मिटर तल झरेको पाइएको छ । मध्यरातमा दुर्घटना भएको स्थानीयवासीको अनुमान छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । रासस