करणी प्रकरणमा मिलापत्र गराउन संलग्न आरोपितहरु ।
0 Shares

मोरङ । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउन संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका ५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका १ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका ८ बस्ने ५३ वर्षीय मथालु खवास रहेका छन् ।

२०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका ५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका ८ बस्ने ३२ वर्षीय सुरेशकुमार खवासले ती युवतीलाई एक्लै पारी जबरजस्ती करणी गरेको आरोप छ ।

त्यसै बेलादेखि फरार रहेका अभियुक्त सुरेशलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मङ्सिर १९ गते रंगेली नगरपालिका ७ रंगेली बजारबाट पक्राउ गरेको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई उक्त नगद दिई मिलापत्र गराएको खुलेपछि उनीहरुलाई मिलापत्र कागजसहित आ-आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।