रकम हस्तान्तरण गर्दै बेहुली (पत्रकार) सुनिरा मैनाली र नारी सञ्चार गृहका पदाधिकारी, सदस्य ।

झापा । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा गृहकी सदस्य पत्रकार सुनिरा मैनालीने सहयोग रकम प्रदान गरेकी छिन् ।

आफूले पत्रकारिता सुरु गरेको ८ वर्ष पार गरेको अवसरमा मैनालीले आफ्नो विवाहकै दिन उनले आठ हजार ८८८ रुपैयाँ बराबरको चेक संचार गृहका अध्यक्ष भिमा शिवाकोटी, कोषाध्यक्ष, संस्थापक अध्यक्ष सावित्रा दाहाल, कोषाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, पूर्व सहसचिब स्वस्तिका आचार्यसहितको टोलीलाई हस्तान्तरण गरेको सचिव भूमिका लिम्बू फियाकले जानकारी दिइन् ।

सहयोग रकम हस्तान्तरण गर्दै मैनालीका पिताले आफ्नो छोरीको बिशेष दिनमा आफ्नो छोरीजस्तै पत्रकारिता पेशामा लागेका महिलाहरुको उद्देश्यलाई सफल पार्नका लागि सो रकम हस्तान्तरण गर्न पाएकोमा खुसी भएको बताए ।

रकम ग्रहण गर्दै संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले सदस्य मैनालीलाई वैवाहिक जीवनको शुभकामनासंगै धन्यवाद ज्ञापन गर्दै बिहे पछाडि महिला पत्रकारहरु पत्रकारिताबाट टाढिने ट्रेन्डलाई गलत साबित गर्न आग्रह गरिन्। साथै लगभग दुई वर्ष अघिदेखि शुरु गरेको अक्षयकोषमा हालसम्म १३ लाख बढी रकम संकलन भइसकेको जानकारी दिईन्।

उक्त रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, सहसचिब केशव भट्टराईलगायत दुलहीका आफन्तजनहरुको उपस्थिति रहेको थियो । झापाका महिला सञ्चारकर्मी संवद्ध नारी संचार गृहले २५ लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेर रकम संकलन गर्दै आएको छ ।