हाब्रे (रेडपाण्डा) अनुगमन गर्न राखिएको क्यामेरामा कैद भएको पाटेबाघ । तस्वीरः रेडपाण्डा नेटवर्क

झापा । इलामको ३१६५ मिटर उचाइमा पाटेबाघ भेटिएको छ । पूर्वी नेपालमा पाटेबाघ भेटिएको पहिलो पटक हो । बारास्थित पर्सा निकुञ्जभन्दा पूर्वमा बाघ रेकर्ड भएको थिएन ।

कञ्चनजंघा भू-परिधिमा जीपीएस कलर गरिएका १० वटा हाब्रे (रेडपाण्डा) अनुगमन गर्न राखिएको २० वटा क्यामेरा ट्रयापमध्ये एउटा क्यामेरामा पाटेबाघ कैद भएको वन तथा भू-संरक्षण विभागले जनाएको छ ।

यो रेकर्डसँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भू-परिधिमा बिरालो प्रजातिको संख्या ८ पुगेको छ । चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा रेकर्ड भइसकेका छन् । उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलिला निकुञ्जसँग जोडिएको छ ।

विभाग र रेडपाण्डा नेटवर्कले हाब्रेको घाँटीमा जीपीएस कलर जडान गरी संयुक्त रुपमा रेडपाण्डाको अनुगमन गरिरहेका छन् । यसअघि गत चैतमा डडेलधुरामा २५०० मिटर उचाइमा बाघ भेटिएको थियो । भारतमा ३६३० र भुटानमा ४४०० मिटर उचाइसम्म बाघ भेटिएका छन् ।

विभागका महानिर्देशक मनबहादुर खड्काले उच्च भागमा बाघ पाइनुले उच्च पहाडी क्षेत्रका वनमा ठूला जंगली बिरालो प्रजातिको बासस्थान भएको पुष्टि भएको उल्लेख गरेका छन् । रेडपाण्डा नेटवर्कका राष्ट्रिय निर्देशक आङफूरी शेर्पाले इलाममा बाघ रेकर्ड हुनुले उक्त क्षेत्रको जैविक मार्गको महत्व र त्यसको संरक्षणको प्राथमिकता उजागर गरेको बताएका छन् ।

२५ सय मिटर उचाइमा भेटियो पाटे बाघ
दुई वर्षअघिको अध्ययनअनुसार नेपालमा पाटे बाघको संख्या २३५ छ । बाघ पाइने १३ देशले सन् २०२२ सम्म प्राकृतिक वासस्थानमा बाघको संख्या सन् २०१० मा भएको भन्दा दोब्बर गर्ने वाचाअनुसार काम गरिरहेका छन् ।

नेपालमा सन् २०१० मा १२१ रहेका पाटे बाघ अहिले करिब दोब्बरको संघारमा छन् । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले बाघ पाइने देशका प्रमुखहरुको रुसस्थित सेन्ट पिटर्सबर्गमा गरेको वाचाअनुसार नेपालले अबको दुई वर्षमा पाटेबाघको संख्या २५० पुर्‍याउनुपर्ने हुन्छ । नेपालमा पर्सा, चितवन, बर्दिया, बाँके र शुक्लाफाँटा निकुञ्जमा बाघ छन् ।

भारतमा २ हजार ९ सय ६७ वटा बाघ छन् । दुई वर्षअघिको सर्वेक्षणमा नेपालका १२ जिल्ला बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, दाङ, बाँके, सल्यान, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुरमा बाघ भेटिएका थिए । कान्तिपुरबाट