पत्रकार मुखियालाई नगद पुरस्कारसहित सम्मान प्रदान गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामकुमार राना ।

झापा । नेपाल टेलिभिजनका झापा संवाददाता इन्द्रजित मुखियालाई सहारा नेपाल सहकारी संस्था (सहारा साकोस)ले स्थापना गरेको सहारा सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ झापाका सहसचिवसमेत रहेका मुखियालाई यसवर्षको उक्त पुरस्कार प्रदान गरिएको हो ।

बिर्तामोडमा मुख्य कार्यालय रहेको सहकारीको २४औं वार्षिक साधारणसभाको अवसरमा आज पत्रकार मुखियालाई २५ हजार नगद राशिको उक्त पुरस्कार प्रदान गरियो । उनलाई कार्यक्रमका प्रदेशका नम्वर १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामकुमार रानाले नगदसहित सम्मान व्यक्त गरे ।

अढाई दशकअघिबाट टेलिभिजन पत्रकारिता सुरु गरेका पत्रकार मुखियाले पाएको पुरस्कारको रकममध्ये ५ हजार ५५५ रुपैयाँ डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारका लागि प्रदान गर्ने घोषणा गरेका छन् ।

सहारा सहकारी पत्रकारिता पुरस्कार प्राप्त गर्ने मुखियाले यसअघि नेपाल टेलिभिजनले सहासिक पत्रकारिता र उत्कृष्ट जिल्ला संवाददाताको रुपमा पुरस्कृत गरिसकेको छ ।

पत्रकारितामा इमान्दारिता र लगनशिलता नै सफलताको आधार हो भन्ने ठानेका मुखियाले आफ्नो संस्था बाहिर पहिलोपटक पुरस्कृत हुन पाउँदा गौरव लागेको बताए । उनले यो पुरस्कारले आफूलाई थप जिम्मेवार र लगनशील भएर अघि बढ्न प्रेरणा मिलेको बताए । उनी बिर्तामोडमा रहेको आँगन एफएमका प्रबन्ध निर्देशक पनि हुन् ।

सहकारीका कार्यवहाक अध्यक्ष हरिवहादुर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेर, नेफ्स्कुनका सदस्य घनश्याम अधिकारी, बिर्तामोड नगरपालिका २ का वडा अध्यक्ष नगेन्द्र संगौला, लगायतले मन्तव्य व्यक्त गरेका थिए । सहकारीका कार्यकारी निर्देशक महेन्द्र कुमारले सहकारीको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।